– विमल योगी
काठमाडौं, २४ चैत । आज अपराह्न बस्ने भनिएको मन्त्रिपरिषद अचानक स्थगित भएको छ ।
उपप्रधानमन्त्रीद्धय विमलेन्द्र निधि र कमल थापाबीचको वरियता विवादले बैठक स्थगित भएको स्रोतले बताएको छ ।
वरियता विवादकै कारण लामो समयदेखि बस्न नसकेको क्याविनेट बैठक प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ३ बजेपछि बोलाएका थिए ।
आजको बैठकमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति, मन्त्रालयका नियुक्तिहरु तथा स्थानीय तह निर्वाचनको तयारीका विषयमा निर्णय गर्ने तय भएको थियो ।
विमलेन्द्र निधि बालुवाटार पसेपछि…
स्रोतका अनुसार तीन बजे क्याविनेट बैठक बस्ने भएपछि गृहमन्त्री निधि आफूलाई वरियतामा माथि नै राख्न भन्दै दबाब दिन विहान बालुवाटार पुगेका थिए । बालुवाटारमा उनले प्रधानमन्त्री प्रचण्डलाई आफूलाई बरियतामा तल नपार्न आग्रह गर्दै कमल थापालाई वरिष्ठ उपप्रम बनाए आफूलाई अस्वीकार्य हुने चेतावनी दिएका थिए ।
उता मधेसवादी दलको समर्थन गुमाइसकेपछि सरकार जोगाउने कसरतमा रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवाको सहमतिमा राप्रपाका अध्यक्ष समेत रहेका कमल थापालाई वरियतामा निधिभन्दा अगाडि राख्ने सहमति गरिसकेका थिए । यहीबीच निधिले आफूलाई कनिष्ठ बनाए नमान्ने चेतावनी दिएपछि सहमति खोज्ने भन्दै प्रधानमन्त्रीले बैठक नै स्थगित गरिदिए ।
स्रोतका अनुसार अब क्याविनेटको अर्काे बैठक चैत २७ गते आइतबार बस्नेछ । ‘वरियता विवादमा कुरा मिल्यो भने भोलि पर्सी नै बस्न सक्छ,’ स्रोतले भन्यो– ‘नभए २७ गते बस्छ ।’












प्रतिक्रिया