– सन्तोष यादब
सिरहा, २२ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी निर्वाचन कुनै पनि हालतमा नहुने बताएका छन् । अधिकारबाट बञ्चित जनतालाई अधिकार नदिई हुने कुनैपनि निर्वाचनले देशमा शान्ति नुहुने बताए ।
सिरहाको लहानमा संघीय समाजवादी फोरमले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् । उनले निर्वाचन भन्दा पहिले जनसंख्याको आधारमा मधेस र पहाडमा स्थानीय तहको संख्या तोकिनुपर्ने बताए ।
उनले संविधान संशोधन नगरि निर्वाचन गरिए मधेस र देशमा महाभारत हुने चेतावनी दिए । उनले भने– ‘महाभारत रोक्न दुवै वटा उपाय छ । त्यो हो संविधान संशोधन र संघर्ष ।’ संघर्षलाई परिभाषित गर्न उनले थपे– ‘संविधान संशोधन नभए मधेसीले महाभारत लड्नुपर्छ । त्यसको लागि सबै योजनाबद्ध तरिकाले तयार रहन निर्देशन र आग्रह गर्दछु ।’
उनले सेना लगाएर निर्वाचन गरिए लोकतान्त्रिक गणतन्त्रणको उपहास हुने भन्दै सेना लगाएर जवरजस्ती स्थानीय तहको निर्वाचन गराए अलग राज्य मधेस निर्माणको लागि संघर्ष हुने बताए । उनले भने –‘त्यसको लागि जुनसुकै प्रकारको शस्त्र उठाउन तयार हुनेछु । तर अधिकार लिनबाट पछाडी हटिदैन ।’
उनले अगाडि भने– ‘या त अधिकार दिन, या त महाभारत लड्न सरकार तयार हुनुपर्छ ।’ उनले महाभारतको शुरुवात भए त्यो मधेसमा मात्र नभई पहाड समेत हुने बताए । सम्बोधनको क्रममा आक्रमक रुपमा मनतव्य राखेका यादवले अहिलेको संविधानमा समेत संघीय प्रणाली उल्लेख रहेकाले संघीय प्रणाली भएका मुलूकमा स्थानीय तहको निर्वाचन गराउने अधिकार केन्द्रीय सरकारलाई नभएको बताए ।
यसैविच सद्भावना पार्टीका सह–महासचिव राजकुमार गुप्तालाई उपेन्द्र यादबले आफ्नो पार्टीमा प्रवेश गराएका छन् । सद्भावना नेता गुप्तासंगै सिरहा गोलबजारका चर्चित यूवा सुधिर साह, सद्भावनाकै केन्द्रिय सदस्य योगेन्द्र राय यादब, जेपी गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानका केन्द्रिय सदस्य राकेश गुप्तालगायतका सयौं कार्यकर्ता फोरममा प्रवेश गरेका छन् ।














प्रतिक्रिया