सोलुखुम्बु, १३ असोज । सोलुखुम्बुको पर्यटकीय क्षेत्र नाम्चे र खुम्जुङमा चार महिनापछि शनिबारबाट विद्युत् सेवा सञ्चालन भएको छ ।
विश्वकै सर्वाधिक उचाइमा रहेको थामे जलविद्युत् आयोजनाको क्षमता थप तथा मर्मतका लागि गत जेठ १४ गतेबाट बन्द गरिएको विद्युत् सेवा सञ्चालन भएको खुम्बु विद्युत् कम्पनीका व्यवस्थापक सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
सो विद्युत् सेवा सुरु भएपछि पर्यटकीय गाविस नाम्चे र खुम्जुङका गरी विभिन्न १३ वटा गाउँका बासिन्दा लाभान्वित भएका छन् ।
क्षमता थप गर्नका लागि आवश्यक मेसिन ल्याई नसकिएकाले यो वर्ष पनि आयोजनाको मर्मत कार्य मात्र गरिएको जनाइएको छ ।
अघिल्लो वर्ष पनि मर्मतसम्भार मात्र गरिएको थियो । विद्युत् सेवा सञ्चालनसँगै नेपाल टेलिकमको नमस्ते मोबाइल सेवासमेत सञ्चालन भएको छ भने नाम्चेमा खानेपानी वितरण, इन्टरनेटलगायतका व्यवसाय सञ्चालन भएका छन् ।
अहिले नाम्चेमा पर्यटकको चहलपहल बाक्लिएको कारण विद्युत् सेवाले व्यवसायी खुसी भएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका महासचिव लामाकाजी शेर्पाले बताउनुभयो ।
१३ वर्षअगाडि अस्ट्रिया सरकारको सहयोगमा करिब १८ करोड लगानी गरी निर्माण गरिएको खुम्बु बिजुली कम्पनीले अहिले नाम्चे तथा खुम्जुङको स्याङबोचे, खुन्दै, खुम्जुङ भ्याली लगायतका बासिन्दालाई विद्युत्भार कटौतीविहीन सेवा उपलब्ध गराइरहेको छ । कम्पनीको क्षमता ६३० किलोवाट रहेको छ । सो विद्युत्बाट ८०१ घरधुरीले सेवा लिइरहेका छन् । रासस















प्रतिक्रिया