
– सन्तोष यादब
सिरहा, २१ चैत । नयाँ शक्ति पार्टी, नेपालले आज सोमबार सिरहा सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालय घेराउ गरेको छ । चर्को घामका कारण कार्यालय अगाडी त्रिपाल टाँगेर नयाँ शक्ति पार्टी नेपालका नेता तथा कार्यकर्ता धर्ना बसेको हो ।
निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको नयाँ दललाई संविधानप्रदत्त पाउनुपर्ने दलीय चुनाव चिन्ह पाउने अधिकारबाट बञ्चित गरेको भन्दै नयाँ शक्ति नेपालका नेता तथा कार्यकर्ताहरु धर्ना बसेका छन् । उक्त धर्नामा वैद्य नेतृत्वका नेकपा क्रान्तिकारी माओवादीका नेता तथा कार्यकर्ता समेत सहभागी छन् ।
धर्ना बसेका नेता तथा कार्यकर्ताहरुले प्रचण्ड सरकार मुर्दावाद, तीन दलीय सिण्डिकेट खारेज गर, दलीय चुनाव चिन्हबाट बञ्चित गर्न पाइदैन लगायतका नारा लगाइरहेका छन् । उनीहरुले दिउँसो ५ बजेसम्म धर्ना बस्ने बताएका छन् ।
नयाँ दललाई आफ्नो दलीय चुनाव चिन्हबाट वञ्चित गरेको विरोधमा धर्ना बसेको नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय परिषद सदस्य राजेश विद्रोहीले जानकारी दिए । उनले भने– स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर नयाँ दलले पनि आफ्नो दलीय चुनाव चिन्ह पाउने अधिकार सुरक्षित गर्नुपर्छ ।














प्रतिक्रिया