काठमाडौं, २१ चैत । स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार सय ८२ जनाले मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले मतदाताको अन्तिम नामावली टुंगो लगाएको हो । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।
मतदाता नामावली टुंगो लगाएसँगै मतदाता परिचयपत्र छपाइ पनि सुरु भएको छ । मनाङ जिल्लाबाट मतदाता परिचयपत्र छपाइ सुरु भएको आयोगले जनाएको छ ।
९ फागुन ०७३ सम्म १८ वर्ष उमेर पुगेकालाई मतदाता नामावलीमा समेटिएको छ । १६ वर्षको उमेरबाटै मतदाता नामावलीमा नाम संकलन हुने भए पनि १८ वर्ष पुगेकाहरू मात्रै मतदान अधिकारसहित अन्तिम नामावलीमा पर्छन् ।
गत ९ फागुनसम्म फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानुनी व्यवस्था छ । अब मतदाताको नामावली ठाउँसारी हुनेछैन ।
आयोगको कार्यतालिकाअनुसार मतदाता नामावली र मतदाता परिचयपत्र छपाइ गरी १० वैशाख ०७४ भित्र जिल्ला–जिल्लामा ढुवानी गरिसक्ने सहसचिव सूर्यप्रसाद शर्माले जानकारी दिए ।












प्रतिक्रिया