
काठमाडौं, २० चैत । नेपाल पुलिस क्लवभित्रै धर्नामा बसेका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई प्रहरीले दुर्व्यवहार गरेको छ।
धर्नामा बसेका बाबुरामलाई आइतबार साँझ कार्यालय छोड्न आग्रह गर्दा नमानेपछि लफडा भएको हो । त्यसक्रममा पुलिस क्लवका प्रहरी अधिकारीसँग बाबुराम र उनकी पत्नी हिसिलाको भनाभन समेत भएको थियो ।
आफूहरुमाथि प्रहरी क्लवमा अपमानजनक व्यवहार भएको भन्दै प्रहरी क्लव अघि पत्रकार सम्मेलन गर्दै बाबुरामले भने -साँझ ७ बजेतिर काठमाडौँका एसएसपी छविलाल ओझा आएका थिए। हामीलाई ‘यहाँ किन ल्याएको अनि किन छाड्न लागेको’ सोध्दा उनी ‘गुडानाइट’ भनेर गए । उनी निस्केको ५ मिनेटपछि डीएसपी राठौर आएर ‘केटाहरु यिनीहरुलाई समात’ भनेर लछारपछार गर्यो। हामीलाई किन यसरी बाहिर पठाइँदैछ भनेर सोध्यौँ। अत्यन्त क्रुरतापूर्वक बाहिर पठाउन खोजियो। माननीय गंगा चौधरीलाई पनि अपमानजनक व्यवहार गरियो। हिसिला यमीजीलाई पनि अपमानजनक व्यवहार गरियो। अन्य साथीहरुलाई पनि अभद्र व्यवहार गरियो ।’
बाबुरामले आफूसँग उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पनि कुरा भएको जानकारी गराए । उनले सुनाए – ‘हामीलाई किन यहाँ ल्याइएको हो अहिलेसम्म जानकारी दिइएको छैन् । अहिले फेरि किन छोड्न खोजिँदैछ भनेर सोधेँ । उनले ‘तपाईंहरु गइदिनुपर्यो सर’ भने ।’
आफूलाई बल प्रयोग गरेर निकाल्ने प्रयास गरेपछि यो कुरा जनतालाई भन्नुपर्छ भनेर आफूहरु बाहिर निस्केको बाबुरामले सुनाए ।
चुनाब चिन्ह माग गर्दै निर्वाचन आयोग अगाडि धर्ना दिने क्रममा पक्राउ परेका बाबुरामलाई प्रहरीले पुलिस क्लवमा पुर्याएको थियो । तर, उनले त्यहीं धर्ना सुरु गरेका थिए ।











प्रतिक्रिया