काठमाडौं, ३० चैत । संयोजक डा. बाबुराम भट्टराई पक्राउ परेकै दिन नयाँ शक्ति नेपाल पार्टीका सह संयोजक महेश कर्मोचासहित ३० जना केन्द्रीय परिषद् सदस्यले पार्टी परित्याग गरेका छन् ।
उनीहरु आजै विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् । फोरमको केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष गच्छदारले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।
कर्मोचालाई गत असारमा नयाँ शक्तिले सह संयोजक बनाएको थियो । त्यसबेला सहसंयोजक तोक्ने विषयमा पार्टी भित्र विवाद भएको थियो । उनी काँग्रेसबाट नयाँ शक्तिमा आएका थिए ।
पार्टीका सहसंयोजकसहित नेता कार्यकर्ता फोरममा प्रवेश गर्दा संयोजक बाबुराम भने नेपाल पुलिस क्लबको हिरासतमा थिए । निर्वाचन चिन्हको माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका उनीसहित ५० जना नेता कार्यकर्ता पक्राउ परेका हुन् ।
पार्टी प्रवेश गर्नेमा कर्मोचासहित सचिवालय सदस्य देव लिम्बु र सीता श्रेष्ठ, केन्द्रीय परिषद् सदस्य रामेश्वर ढकाल, केदार शाक्य लालबहादुर अर्याल लगायत रहेका छन् ।
यसअघि नयाँ शक्ति नेपाल केन्द्रीय परिषद्का कार्यकारी सदस्य मुमाराम खनाल, आर्थिक नीति विभाग प्रमुख पूर्व अर्थ सचिव रामेश्वर खनालले पार्टी छाडिसकेका छन् ।














प्रतिक्रिया