६ मंसिर २०८३, आइतबार

श्रीमान विदेशमा अलपत्र, परिवारमा विचल्ली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तपेन्द्र कुँवर धनगढी, २० चैत । कैलालीको बर्दगोरिया गाउँपालिका–४ बस्ने पवित्रा हमालका छोराछोरी उनलाई आफ्ना बाबुको बारेमा सँधै सोधेर हैरान पार्छन् । ‘बुवा कहाँ हुनुहुन्छ ?, घरमा कहिले आउनुहुन्छ ? लगायतका यावत प्रश्नहरु उनलाई सोध्छन् । तर, उनी नाजवाफ हुन्छिन् ।

अनभिज्ञ छोराछोरीका यस्ता खाले पश्नहरुले उनको मुटुनै छियाछिया हुन्छ । उनको आँखाबाट आँसु झर्छ । कहिलेकाँँही छोराछोरीलाई मनाउन उनी बनावटी जवाफ दिन्छिन्, ‘बुवा राम्रो कमाई गरेर चाँडै घर फर्किनुहुन्छ बाबु ।’

पवित्राका एक छोरा र छोरीलाई विदेशिक रोजगारीमा मलेसिया पुगेका आफ्ना बाबुको अनुहार समेत याद छैन । गहभरी आँसु बगाउँदै पबित्राले दुखेसो पोखिन्, ‘छोराछोरी बुवा कहिले आउनुहुन्छ भनेर सदैब प्रश्न गर्छन्, म बनावटी उत्तर दिएर उनीहरुलाई भुलाउँछु ।’

तर, अहिले उनका छोराछोरीले पनि आमाको कुरालाई विस्तारै पत्याउन छोड्दैछन् । आफूलाई आफ्नो श्रीमान घर फर्किने आशा कायमै रहेको भएपनि अहिले छोराछोरीलाई मनाउन निकै समस्या भएको उनी दुखेसो पोख्छिन् ।

कस्तो अवस्थामा छन् पवित्राका श्रीमान विदेशमा ?

छोराछोरीको सुखी र समृद्ध जीवनको सपना बुन्दै पवित्राका श्रीमान ठम्मन हमाल मलेसिया गएको साढे दुई वर्ष भइसकेको छ । तर, उनी त्यहाँ शारीरिक रुपमा अस्वस्थ भए । आफू अस्वस्थ भएपछि उनले नेपाल फर्किने प्रयास गरे । तर, उनलाई काम गर्ने संस्थाबाट घर फर्किन अनुमति दिइएन ।

मलेसिया पुग्ने वित्तिकै स्वास्थ्य समस्या देखिएपनि ठम्मनले जेनतेन जोखिम्पूर्ण काम गर्दै आएका थिए । उनले मालिकलाई घर जान्छु भनेर अनुरोध गरेपछि उल्टै जोखिमपूर्ण काममा पेलाउन थालियो ।

काम गर्न नसकेर उनी त्यहाँबाट भागे । पहिलेको काम छोडेपछि उनलाई नेपाल फर्किन सक्ने सम्भावना झन कम भयो । उनको पासपोर्ट पनि मालिककै हातमा छ । मालिकले पासपोर्ट आफै राखेपछि उनी अहिले लुकीछिपी बल्ल–बल्ल पेट पाल्नसम्मको काम गरिरहेका छन् । तर, अढाई वर्षदेखिको नेपाल फर्किने चाहाना पुरा हुने देखिँदैन । उनलै अझै नेपाल फर्किन सक्ने आशा भने मारेका छैनन् ।

विचल्लीमा परिवार

अढाई वर्षदेखि श्रीमानको बाटो कुर्दै बसेकी पवित्रा र छोराछोरीको दिनचर्या भने दुखमय बन्दै गएको छ । श्रीमानको घर फर्किने टुङ्गो छैन । यता पवित्रालाई छोराछोरी पाल्न र घर सञ्चलानमा समस्या भएकोे छ । ‘ढाई वर्ष अघि श्रीमान विदेशमा जाँदा राम्रो कमाई गरेर उज्जल भविष्य हुन्छ भन्ने लागेको थियो ।’ उनले रुँदै भनिन्, ‘तर अहिले धन कमाउन गएका श्रीमानले विदेशमा पाएको दुःखले साह्रै पिरोल्छ । अहिले पैसा भन्दा श्रीमान, छोराछोरीको माया लाग्छ ।’

विहान बेलुकाको छाक टार्न धौ-धौ छ । ठम्मनलाई अहिले वैदेशिक रोजगारी अभिशाप बनेको छ । छोराछोरीलाई मिठो मसिनो खानेकुुरा र नयाँ लुगाफाटो लगाउने सपना सपनामै सीमित भएको छ ।

श्रीमान घर फर्काउने पैसामा पनि दलाल

विदेशमा दुःख भोगिरहेका श्रीमानलाई घर फर्काउने प्रयास पनि पबित्राले नगरेकी होइनन् । उनी त्यसमा पनि असफल भइन् । श्रीमानलाई नेपाल फर्कान उनले ५० हजार रुपैयाँ ऋण काढिन् । सो रकम विदेश पठाउन खोज्दा त्यसमा पनि दलाल लागे । उनको दुःखमाथि दुःख थपियो । दलालले राम्रो ठाउँमा काम लगाइदिन्छु भन्दै घर फर्काउनका लागि पठाएको ५० हजार रुपैयाँ पनि खाएर भाग्यो ।

पवित्रा रुँदै भन्छिन्, ‘वैदेशिक रोजगारीमा पठाएको मेन पावरले समेत वेवास्ता गरेपछि स्वदेशमा फर्कन समस्या भएको छ ।’ उनी अहिले श्रीमानलाई स्वदेश फर्काईदिन सरोकारावाल निकायसँग याचना गरिरहेकी छन् ।

सुरक्षित आप्रपासन परियोजना कैलालीका जिल्ला संयोजक पन्चराम चौधरीले अहिलेसम्म ठम्मनको परिवारले कुनै सो जानकारी नगराएको बताउँछन् । उनले ठम्मनको बारेमा आफ्ना प्रतिनिधि मार्फत जानकारी लिएर स्वदेश फर्काउन लागि पहल गर्ने विश्वास पवित्रालाई दिएका छन् । तर, पवित्राका आँखा भने ओभाउन सकेका छैनन् ।