कञ्चनपुर, १२ असोज । गएको असारमा हुरीले उडाएको दसकोठे भवनकोे छाना छाउन आर्थिक अभाव भएपछि पुनर्वास नगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा खुला आकाशमुनि पठनपाठन भइरहेको छ ।
गएको असार १५ गते आएको हुरीले विद्यालय भवनको छाना उडाएको थियो । दुईमहिना बितिसक्दा पनि भवन पुनःनिर्माणमा कहीँकतैबाट पहल नभएपछि विद्यार्थीलाई बिनाछानाकै कक्षा कोठामा राखेर पढाउन बाध्य भएको विद्यालयका प्रधानाध्यापक लोकबहादुर क्षेत्रीले बताउनुभयो ।
वर्षायामको घामपानीमा छाना नभएको कक्षाकोठामा विद्यार्थी राखेर पढाउन नमिलेर बिदा गर्नुपर्दा विद्यार्थीको शैक्षिक स्तर खस्कने अवस्था आएको उहाँको भनाइ रहेको छ ।
एसएलसी परीक्षामा राम्रो नतिजाका लागि पढाइ पूरा समय हुनुपर्ने तर कक्षाकोठाको असहजताले विद्यार्थीको पठनपाठनमा बाधा पुगेको शिक्षक भविश्वर अर्यालले बताउनुभयो ।
विद्यालयको पुनःनिर्माणका लागि सहयोग गरिदिन थुप्रै सङ्घसंस्था र निकायसामु आग्रह गरिए पनि सहयोग हात नपरेको दुखेसो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर सेतीमहरले बताउनुभयो ।
धेरै आग्रह गरेपछि युरोपेली नियोगको आर्थिक सहयोगमा मर्सिकोर नेपालले दुईकोठाको छाना छाउन रु ७५ हजार सहयोग गरे पनि आठवटा कक्षाकोठा अझै उदाङ्गो रहँदा ८०० विद्यार्थीको पठनपाठन नराम्ररी प्रभावित भएको विद्यालय व्यवस्थापन समितिका सदस्य अमरजन साउदले बताउनुभयो ।
पुनर्वास नगरपालिकाले विद्यालयको पुनःनिर्माणका लागि रकम दिने निर्णय गरे पनि ढिलाइ गरेपछि समस्या सिर्जना भएको उहाँले बताउनुभयो । पुनर्वास क्षेत्रकै विद्यार्थीको चाप उच्च रहेको उक्त विद्यालयको आर्थिक अवस्था कमजोर रहेकाले २०५५ सालदेखि मावि तहसम्मको पठनपाठन हुँदै आए पनि पढाइ खर्च अभिभावकबाट धानिएको छ ।
सरकारी स्तरबाट दुईवटा राहत कोटाबाहेक अन्य दरबन्दी विद्यालयमा नभएको प्रधानाध्यापक क्षेत्रीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले विद्यालयको क्षतिको सर्जमिन मुचुल्का, विद्यालयको मागपत्र र लागत योजनासहित प्रधानमन्त्री राहत कोषमा पठाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले आइतबार बताउनुभयो ।
देशका अन्य स्थानमा बाढी पहिरोले ठूलो क्षति पु¥याएकाले मानवीय सहायताका कार्यक्रमबाहेक अन्य काममा रकम खर्च गर्न नसकिने व्यहोराको पत्र गृहमन्त्रालयबाट आफूकहाँ आएको प्रजिअ घिमिरेको भनाइ रहेको छ ।
आगामी बजेटमा त्यो विद्यालयलाई समावेश गरी भवन छनोटमा विद्यालयलाई नछुटाउन जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको उहाँले बताउनुभयो । विद्यालयले स्थापनाकाल २०२९ देखि भोगचलन गर्दै आएको करिब १० बिघा जमिन २०६० सालमा भारतीय पक्षबाट दाबी गरिएपछि विद्यालयमा आर्थिक भार थपिएको विद्यालयका संस्थापक दीनबन्धु अर्यालले बताउनुभयो । रासस















प्रतिक्रिया