सर्लाही, १२ असोज । सर्लाहीको मूर्तियास्थित किराना पसलमा आगलागी हुँदा तीनजना घाइते भएका छन् ।
खुलारुपमा बिक्रीका लागि ग्यालेनमा हालेर राखेको पेट्रोलमा आगो सल्किँदा पसलमा रहेका तीनजना आगलागीबाट घाइते भएका हुन् । घाइते तीनजनामध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
मूर्तिया गाविस–८ स्थित किराना पसलमा गएराति ९ः३० बजे प्लास्टिकको ग्यालेनमा राखिएको पेट्रोल निकाल्न खोज्दा नजिकैको लाल्टिनबाट सल्केको आगोले पोलेर पसल सञ्चालक ५५ वर्षीय रामविलास साह गम्भीर घाइते भएका हुन् ।
पसल सञ्चालक साहका छोरा २५ वर्षीय लालबाबु साह र पेट्रोल खरिद गर्न आएका ग्राहक मूर्तिया–३ का २४ वर्षीय लालबाबु यादव आगोले पोलेर सामान्य घाइते भएका छन् ।
गम्भीर घाइते बाबु छोराको वीरगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरेन्द्र ठाकुरले बताउनुभयो ।
पछिल्लो समय जिल्लास्थित अधिकांश स्थानमा खुला पेट्रोल बिक्री वितरणको प्रचलन बढिरहेको छ ।















प्रतिक्रिया