३१ आश्विन २०८३, शनिबार

सल्यानबाट दुई करोड बढीको अदुवा निर्यात, किसानले उचित मूल्य पाएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, १९ चैत । यस वर्ष रु दुई करोड बढीको अदुवा निर्यात भएको छ । अदुवा उत्पादनमा वृद्धि भए पनि किसानले उचित मूल्य नपाउँदा अदुवा निर्यातमा गिरावट आएको छ ।

गत आवमा करिब रु १० करोड ४३ लाख बराबरको अदुवा निकासी भए पनि यस वर्ष उचित मूल्य नपाउँदा करिब रु दुई करोड ८७ लाख बराबरको मात्र अदुवा निर्यात भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अदुवा उत्पादनमा चार प्रतिशतसम्म वृद्धि भए पनि मूल्य नपाइएकाले निर्यातमा समस्या भएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले जानकारी दिनुभयो ।

गत वर्षमा घरमै आएर अदुवा व्यापारीले रु ४० देखि ४५ प्रतिकेजीसम्ममा खरिद गरे पनि यस वर्ष रु १५ देखि २० सम्ममा बिक्री गरिएको जिल्ला अदुवा उद्यमी सङ्घ सल्यानका अध्यक्ष ज्ञानदेव घर्तीले जानकारी दिनुभयो । “अदुवाको उत्पादन राम्रो भए पनि किसानले उचित मूल्य पाएनन्, यसले किसानलाई चिन्तित बनाएको छ”, घर्तीले भन्नुभयो ।

गत आवमा दुई हजार हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकामा २४ हजार छ सय २१ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष दुई हजार ५० हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएकामा २५ हजार पाँच सय ३२ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ ।

सल्यानमा पछिल्लो समयमा व्यावसायिक रुपमा नै अदुवा खेती गर्ने किसानको सङ्ख्या बढ्दै गए पनि यस वर्ष उत्पादित अदुवाले बजार नपाउँदा किसान चिन्तित भएका छन् । माल्नेटा, ढारखानी, सिद्धेश्वरी, कोटमौला, दमाचौरलगायत ठाउँमा अदुवा खेती गरिन्छ । यी ठाउँमा उत्पादन हुने अदुवा रेसा नभएको तथा बोसे जातको हुन्छ । यहाँ उत्पादन हुने अदुवा दाङ, नेपालगन्ज, बुटवल तथा भारतमा समेत निकासी हुन्छ । रासस