म्याग्दी, १२ असोज । महान् पर्व दसैँलाई लक्षित गरी बजारमा बिक्री–वितरणका लागि ल्याइएका भेडाच्याङ्ग्राको मूल्य बढेपछि सर्वसाधारण मर्कामा परेका छन् ।
मुगु, डोल्पा र तिब्बतबाट उपल्लो मुस्ताङ हुँदै म्याग्दी ल्याइएका भेडाच्याङ्ग्राको मूल्य आकासिएको छ । गत वर्ष आठ हजारमा बिक्री हुने च्याङ्ग्री (रोमा)को मूल्य अहिले ११ हजार र बढीमा १८ हजारसम्ममा बिक्री हुने च्याङ्ग्राको मूल्य २५ हजार पुगेको बेनीमा भेडाच्याङ्ग्रा बिक्री गर्न आएका पदमबहादुर पुनले बताउनुभयो ।
तिब्बत र मुस्ताङबाट बाहिर निर्यात हुने भेडाच्याङ्ग्रा जोमसोमबाट खरिद गर्दा गत वर्षको तुलनामा प्रतिगोटा तीन हजारसम्म बढी मूल्य तिर्नु परेको अर्का व्यापारी परवीर पुनले जानकारी दिनुभयो ।
शुक्रबारसम्म मुस्ताङको जोमसोमबाट १४ हजार भेडाच्याङ्ग्रा बाहिरिएको र प्रतिगोटामा तीन हजारदेखि चार हजारसम्म मूल्य बढेको पाइएको पशु सेवा कार्यालय मुस्ताङका नायब पशु प्राविधिक बद्रीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
दसैँका लागि बेनीमा च्याङ्ग्रा किन्न लागेका रमेश खड्काले विगतका वर्षमा भन्दा भेडाच्याङ्ग्रा धेरै महँगो भएको बताउनुभयो । मुस्ताङबाट यो वर्ष करिब २० हजार भेडाच्याङ्ग्रा बजारमा भित्रिने अनुमान गरिएको छ । रासस














प्रतिक्रिया