विराटनगर, १८ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला नटेर्ने संकेत गरेका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा देउवाले सर्वोच्च अदालतले कसैको पनि नाम किटान गरेर फैसला नगरेको जिकिर गरे ।
सर्वोच्च अदालतले कसैको नाम किटेर नभनेकाले कसको नियुक्ति हुन्छ भनेर भन्न नसकिने उनको भनाइ छ । उनले भने– ‘यो नियुक्ति सरकारले गर्ने हो । सर्वोच्च अदालतले पनि कसैको नाम किटेर भनेको छैन् । अब यसमा कसको नियुक्ति हुन्छ, हेर्दै जाँऊ ।’
आईजी नियुक्तिमा जयबहादुर चन्दलाई समर्थन गरेको भन्दै चर्को आलोचना भएपछि सभापति देउवाको यस्तो प्रतिक्रिया आएको हो । देउवाकै दबाबमा सरकारले वरियतामा एक नम्बरमा रहेका नवराज सिलवाललाई पन्छाएर चन्दलाई आईजी नियुक्ति गरेको बताइन्छ ।
अदालतले नाम किटान नगरे पनि वरियता र कार्यसम्पादनलाई एक नम्बरमा रहेका सिलवाललाई महानिरीक्षक नियुक्ति गर्नुपर्ने आशयको फैसला गरेको थियो । सर्वोच्चको फैसलापछि आफू प्रहरी प्रमुख नियुक्त हुनेमा सिलवाल ढुक्क छन् ।
‘संविधान संशोधन प्रस्ताव असफल हुन दिँदैनौं’
सभापति देउवाले स्थानीय तहको निर्वाचन निर्धारित समयमै एकै चरणमा हुने जानकारी दिए ।
निर्वाचनका लागि सहमति जुटाउन मधेसी मोर्चासँग छलफल भइरहेको र दुई–चार दिनमै सहमति हुने उल्लेख गर्दै उनले भने– ‘नेपाली काँग्रेस संविधान संशोधनको प्रस्तावलाई असफल भएको देख्न चाँहदैन ।’
मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै उनले भने– ‘पार्टीभन्दा जनता नै निर्वाचनका लागि बढी तयार छन् ।’












प्रतिक्रिया