काठमाडौँ, ११ असोज । विभिन्न सङ्घसंस्था तथा नागरिक समाजले डा सिके राउतलाई विनासर्त हिरासत मुक्त गर्नुपर्ने माग गरेका छन् ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न सङ्घ संस्थाले फरक विचार राख्न पाउने अधिकारलाई कुन्ठित गर्दै मधेसलाई अलग्गै राज्य बनाउनुपर्ने अभियान चलाउँदै आएका डा राउतलाई तत्काल मुक्त गर्नुपर्ने माग गरेका हुन् । डा सिके राउतलाई पक्राउ गरी केही दिनदेखि थुनामा राखिएको छ ।
मधेसी नागरिक समाजका संयोजक गणेशकुमार मण्डलले दिन प्रतिदिन डा राउतको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको हुँदा बिनातर्फ तत्काल रिहाइ गर्नुपर्ने माग गर्नुभयो ।
उहाँले मुलुकको सङ्घीयता र धर्म निरपेक्षतालगायतका विषयमा बोल्दै हिँड्ने व्यक्तिलाई राज्य, सरकारले केही कारबाही गर्न सकेको छैन् तर अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाउँदै पूर्वाग्रही ढङ्गबाट राउतलाई पक्राउ गरिएको छ भन्नुभयो ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एमबिबिएसका अन्तिम वर्षका विद्यार्थी तथा राउतको निजी चिकित्सक विनय पंजियारले एक हप्तादेखि आमरण अनशनमा बसेका राउतको स्वास्थ्य अवस्था गम्भीर बन्दै उनलाई बचाउन आग्रह गर्नुभयो । पंजियारका अनुसार राउतको पिसाबमा समस्या देखिएको छ ।
अधिकारकर्मी महेश साह कलवार नयाँ संविधान निर्माण प्रक्रिया अगाडि बढिरहेको अवस्थामा फरक मत आउनु नौलो कुरा नभएको भन्दै त्यसलाई अन्यथा लिन नहुने धारणा व्यक्त गर्नुभयो ।
















प्रतिक्रिया