१४ कार्तिक २०८३, शनिबार

भारतीय राजदूतले सुरूमै केपी ओलीलाई भेट्नुको रहस्य के होला ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । अहिले भारतीय संस्थापन र नेपालको प्रमुख प्रतिपक्षी दल एमालेबीच सम्बन्ध चिसिएको छ । सरकारको नेतृत्व अध्यक्ष केपी ओलीले गरेकै बेला भारतसँग सम्बन्धमा चिसोपन आएको थियो ।

अझ, एमाले सांसदहरूले तत्कालीन नेपालका लागि भारतीय राजदूत रणजित रायलाई देश निकाला गर्न संसदमै हंगामा गरेपछि एमालेको सम्बन्ध भारतसँग राम्रो रहेन । रायले एमालेलाई मधेस र भारत विरोधी भनी प्रचार मात्र गरेनन्, एमाले सरकारमा नेतृत्व लिँदा बधाईका लागि सहभागी पनि भएनन्, संविधान जारी गर्दा सामान्य शुभकामना पनि दिन नहुने निर्णयमा पुगे ।

तर, झन्डै डेढ वर्ष लामो भारत–एमाले सम्बन्धको चिसोपनको अन्त्य हुनसक्ने अनुमान सोमबारदेखि गर्न थालिएको छ । यो सम्बन्धमा ‘आइसब्रेक’ हुनसक्ने एमालेजनले जनाएका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

कारण हो, नेपालका लागि नवनियुक्त राजदूत मन्जिभ सिंह पुरीले कार्यभार सम्हाल्नासाथ एमाले अध्यक्ष ओलीलाई गरेको पहिलो औपचारिक भेट ।

एमाले र भारतबीच बढेको तिक्ततालाई शुन्यमा झार्ने प्रयासमा पुरी लागेका हुन् । मेची महाकाली अभियानका क्रममा एमालेले मधेस र भारतविरोधी अभियानलाई खास मुद्दाका रूपमा उठाएको थियो । भारतविरोधी राष्ट्रवादी छवि बनाएका कारणले नै केपी ओली अहिलेका ‘हट केक’ नेता भएका हुन् ।

‘राजदूतको यस्तो भेटलाई रणनीतिक अभ्यासका रूपमा बुझ्नुपर्छ, उनले राम्रो सम्बन्ध स्थापित गराउने कोशिश पनि गरेका हुन सक्छन्’, विदेश मामिला विश्लेषकहरूले अड्कल काटेका छन्,‘नेपालमा रहँदाको कार्यकालमा सवैभन्दा बढि भारतले समन्वय गर्नुपर्ने पार्टी एमाले देखिएका कारणले पनि उनको पहिलो भेट हुनसक्छ । यो भारतीय रणनीतिमा भर पर्दछ ।’

ओहदाको प्रमाणपत्र बुझाएको भोलीपल्ट सोमबार पुरीको यो औपचारिक भेटवार्ता हो । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पुरीले ओलीसँग भेटेका हुन् ।

‘यसमा दुवै तर्फबाट सहज कुराकानी हुन्छ । एमालेको रणनीति बुझ्ने प्रयास भारतीय राजदुतले गरेका छन्, एमालेले नयाँ राजदूतको कार्यकालमा बन्ने सम्बन्धका विषयमा कुराकानी गरेको छ ।’, एमाले उच्च स्रोतले भन्यो ।

तलदेखि माथिसम्म संगठनात्मक कुशलता भएका कारणले एमाले चिढ्याउने नीतिभन्दा एमालेलाई हातमा लिने प्रवित्ति भारतीय संस्थापनमा हुनुपर्ने मान्यतालाई भारत सरकार स्थापना गर्न चहान्छ ।

यद्यपि, उसको नेपाल नीति भने परिवर्तन हुनेछैन । तर, नेपालमा पात्र परिवर्तन भएपछि ‘फकाउ’ र ‘फुकाउ’ भन्ने नीतिलाई उसले अबलम्बन गर्दै आएको छ । अहिले आएका नयाँ राजदूत पुरीले एमाले अध्यक्ष ओलीलाई सबैभन्दा पहिला भेट्नुको मुख्य कारण नै भारतविरोधी राष्ट्रवादको अन्त्य हो ।

‘भारत सत्ता सञ्चालक मात्र होइनन्, भारतीय जनता पनि हुन् । एमालेले भारतविरोधी गतिविधि र भाषणमा न्युनिकरण गरोस्, संयन्त्रका हिसाबमा म सहयोग गर्न तयार छु’, भारतीय राजदूत पुरीले ओलीसँग भने,‘हाम्रा सम्बन्ध पौराणिक कालदेखि नै रहेका कारणले पनि फेरिन सक्तैनौं, आचरण फेर्नका लागि भारत पनि तयार छ, एमाले पनि तयार रहोस् ।’

प्रतिपक्षले भारतलाई जहिले पनि सत्तामा राखेर गाली गर्ने प्रचलन नेपालमा रहेको छ । त्यसकारण पनि भारतले नेपालको प्रतिपक्षीसँग पहिलो भेट गर्दै आएको छ । आफ्नो कार्यकालमा भारतको विरोध नेपालमा ज्यादा नहोस् भन्ने भारतीय राजदूतको चाहना हुने भएकाले ओलीसँग पुरीले पहिलो औपचारिक भेट गरेका हुन् ।

‘आफू अनुकुलको राजनीतिक अवस्थालाई भारतीय राजदूतले उपयोग गर्न चहान्छन्, पुरीको भेट पनि त्यसैमा केन्द्रित रहेको छ’, उच्च स्रोतले भन्यो, ‘भारतीयहरू ओहदाका हिसावले पनि भेटमा केन्द्रित रहने गरेको दृष्टान्त छ । उनीहरू मर्यादालाई मिच्न चहाँदैनन् । प्रधानमन्त्रीपछिको मर्यादाका हिसावले प्रतिपक्षी दलका नेता हुने भएकाले पनि राजदूत मन्जिभ सिंह पुरीले केपी ओलीलाई भेटेका हुन् ।’

त्यसो त आफ्नो कार्यकालको सुरूआती दिनमा पूर्वराजदूत रणजित रायले पनि एमाले नेता माधवकुमार नेपाललाई भेटेका थिए । त्यसबेला नेपाल प्रतिपक्षी दलका नेता थिएनन् ।