
काठमाडौं, १४ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारी तलब खाएर राजनीतिक दलको प्रचार प्रसार गरेको पाइएमा त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गरिने बताएका छन् ।
उनले आयोग स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा स्थानीय तह निर्वाचन गराउन चाहन्छ, यसमा सबैको सहयोग पनि अरिहार्य बताए ।
गाउँ गाउँमा कलम र डस्टर छाडेर दलको झण्डा बोकेर हिँड्ने गरेका कतिपय शिक्षकप्रति लक्षित गर्दै प्रमुख आयुक्त यादवले भने, ‘‘सरकारी तबल खाएर दलको प्रचार गर्न पाइँदैन, उम्मेदवारी दर्ता गर्ने हो भने पनि राजीनामा स्वीकृत गराएर मात्रै उम्मेदवारी दर्ता गराउनु होस् ।’
ललितपुरको गोदावरीमा सञ्चालित मतदाता शिक्षा कार्यक्रमअन्तर्गत दुई दिने क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन गर्दै प्रमुख आयुक्त यादवले यस्तो विचार व्यक्त गरेका हुन् ।
उनले प्रशिक्षणमा सहभागीलाई निर्देशन दिँदै भने, ‘देशभरका मतदाताको घरघरमा पुग्ने मतदाता शिक्षा कार्यकर्ताले मतदानको प्रक्रियाबारेमा सिकाउनुपर्छ, भुलेर पनि उनीहरुले कुनै दलको निर्वाचन चिन्हमा संकेत नगरुन्, तालिम दिँदा स्पष्टरुपमा सिकाउनू होला ।’
उनले निर्वाचनमा मतदातालाई कसैको प्रभाव र दबाबमा नपरी स्वतन्त्ररुपमा आफूले रोजेको उम्मेदवारलाई गोप्यरुपमा मतदान गर्न सक्ने बनाउनु मतदाता शिक्षा कार्यकर्ताको मुख्य जिम्मेवारी भएको बताए ।












प्रतिक्रिया