ललितपुर, १३ चैत । ललितपुर जिल्लाका ६ वटै स्थानीय तहमा चुनावी माहोल गर्माएको छ । १ महानगरपालिका, २ नगरपालिका तथा ३ गाउँपालिकामा चुनावी माहोल बढेको हो । ३१ वैशाखमा हुने स्थानीय निकाय चुनावका लागि ‘को मेयर वा प्रमुख बन्ने ?’ चर्चा सुरु भइसकेको छ ।
चुनावमा ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, बाग्मती गाउपालिका र महांकाल गाउँपालिकाका लागि प्रमुख र उपप्रमुखसहित अन्य पदका लागि प्रतिस्पर्धा हुँदै छ । राजधानी दैनिकले समाचार छापेको छ ।
मेयर तथा प्रमुख चुनावका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका स्थानीय नेता आकांक्षी देखिएका छन् । यसबाहेक अन्य दलका केही नेताले पनि इच्छा देखाएका छन् । कतैकतै स्वतन्त्र रूपमा उठ्ने भन्दै प्रचार–प्रसारसमेत सुरु भइसकेको छ ।
भर्खरै मात्र उपमहानगरपालिकाबाट महानगरपालिका भएको ललितपुरमा मेयर बन्न होडबाजी नै चलेको छ । ३६ दशमलव १२ वर्ग किलोमिटर क्षेत्रफल रहेको महानगरपालिकामा शीर्ष चार दलकै दबदबा देखिएको छ ।
कांग्रेस, एमाले, माओवादी र राप्रपा नेताले आआफ्नै तवरले इच्छा प्रकट गरिरहेका छन् । २९ वटा वडा रहेको महानगरपालिकामा एमालेका तर्फबाट हरिकृष्ण व्यञ्जनकार र प्रेम महर्जनको नाम चर्चामा छ ।
एमाले जिल्ला कमिटी अध्यक्षसमेत रहेका व्यञ्जनकार अघिल्ला दुई संविधानसभा चुनावमा पनि दाबी नगरेकाले पार्टी महानगर मेयर पदमा उठ्न दिनुपर्नेमा जोड दिन्छन् । ‘२०६४–२०७० मा संविधानसभा चुनावमा मैले इच्छा देखाइन,’ उनले भने, ‘त्यतिबेला नै मैले भनेको थिएँ कि म स्थानीय निकायमा जानुपर्छ भनेर ।’ महानगरपालिकामा कांग्रेसबाट मेयरमा रामकृष्ण चित्रकार, प्रेमलाल महर्जन र भरत न्याँछ्यों प्रत्याशी छन् ।
माओवादी केन्द्रबाट राजकाजी महर्जन, उकुलाल डंगोल र सरोज डंगोलकोे नाम चर्चामा रहँदा यस क्षेत्रमा राप्रपाबाट भने नरेश श्रेष्ठको नाम अघि देखिएको छ । ललितपुर महानगरपालिकापछि अर्को चर्चित नगरपालिकामा गोदावरी नगरपालिका हो । यसमा एमालेबाट श्यामकृष्ण सिलवाल, चेतनाथ सञ्जेल, रघुनाथ महर्जन, पुरुषोत्तम आचार्य, शिवराज सञ्जेल र चरसुन्दर महर्जनको नाम चर्चामा छ ।
सिलवाल जिल्ला उपाध्यक्ष र चेतनाथ ललितपुर क्षेत्र १ का पूर्वअध्यक्ष एवं पूर्वजिल्ला कमिटी सदस्य हुन् । राप्रपाबाट कृष्ण देशार चर्चामा छन् । भर्खरै बज्रबाराहीको पुरै र कार्यविनायक नगरपालिकाको केही स्थान गोदावरीमा गाभिएर बनेको गोदावरी नगरपालिकामा कांग्रेसका तर्फबाट गजेन्द्र महर्जन, दिलिप कर्माचार्य र मीनकृष्ण महर्जनको नाम चर्चामा छ ।
माओवादी केन्द्रका तर्फबाट श्रीगोविन्द महर्जन र राप्रपाका तर्फबाट कृष्णबहादुर देशारको नाम अगाडि छ । गोदावरी नगरपालिकाको मेयर बन्न स्वतन्त्रबाट दिलिप न्यौपानेले पनि दाबेदारी प्रस्तुत गरिसकेका छन् । उनी झन्डै महिना दिनअघि नै सामाजिक सञ्जालदेखि पर्चा नै बाँडेर प्रचार गरिरहेका छन् ।
महालक्ष्मी नगरपालिका पनि चासोका विषय बन्ने गरेको छ । यहाँबाट एमालेमा किशोर केसी, रामेश्वर श्रेष्ठ, हरिगोविन्द्र श्रेष्ठ, सूर्यबहादुर थापा र चिरञ्जीवी आचार्यको नाम अगाडि आएको छ ।
यसैगरी, कांग्रेसबाट दिवाकर सिलवाल, पवनविक्रम थापा र गणेश सिलवालको नाम अग्रपंक्तिमा छ । राप्रपाबाट आनन्द अधिकारीको नाम चर्चामा छ ।चौघरे, शंखु, दलचोकी, नल्लु र भारदेउ मिलेर बनेको कोन्ज्योसोम गाउ“पालिकामा एमालेका तर्फबाट कृष्णमान लामा मात्रै चर्चामा छन् । उनी त्यहा“का एमाले इन्चार्जसमेत हुन् ।
कांग्रेसमा सानुकान्छा मोक्तान र राजन घिमिरे तथा माओवादीमा गोपी तामाङ र योगेन्द्र घिसिङको नाम चर्चामा छ । हाल, सांसद रहेका घिसिङले सांसद पद छाडेर आउने तयारी भएको स्रोतले बताएको छ । यहाँ राप्रपाको त्यति चर्चा सुनिएको छैन ।
बुखेल, मानिखेल, गोटीखेल, कालेश्वर, चन्दनपुर र ठूलादुर्लुङ गाविस मिलेर बनेको महांकाल गाउँपालिकामा एमालेमा रामचन्द्र दाहाल, नवराज महत, अमृतनाथ तिमल्सिना, उमेश शर्मा र रामशरण घिमिरे चर्चामा छन् ।
कांग्रेसमा भीमसेन घिमिरे, ऋषिदेव फुयाँल, गणेश केसी, श्याम न्यासुर तामाङ, माओवादीमा बुद्ध नेगी र पीपी आचार्य तथा राप्रपामा गणेश चौरेल र माधव घिमिरेको नाम चर्चा रहेको छ ।
उता, घुसेल, माल्टा, भट्टेडाँडा, प्युटार, इकुडोल, आस्राङ र गिम्दी गाविस मिलेर बनेको बाग्मती गाउँपालिकामा एमालेका नारायण तिमल्सिना, दुर्गा घिमिरे, रामहरि घिमिरे, राजकुमार दर्लामी मगर तथा कांग्रेसमा रविन्स शर्मा, वीरबहादुर लामाको नाम चर्चामा छ । माओवादीबाट राम आचार्य र राजु आले मगर र महेन्द्र घिमिरे अघि देखिएका छन् । नयाँ शक्तिका तर्फबाट गोपाल सञ्जेलको नाम चर्चामा छ ।












प्रतिक्रिया