काठमाडौं, ११ चैत । एमालेले नगरपालिका र गाउँपालिकाका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षको उम्मेदवार छनोट गर्ने अधिकार पार्टीका प्रदेश समितिलाई दिएको छ ।
पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बिहीबार बसेको स्थायी समिति बैठकले उम्मेदवार छनोटको अधिकार र उम्मेदवारको मापदण्ड तय गरेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
पार्टी उपाध्यक्ष वामदेव गौतमका अनुसार स्थानीय तहका वडाध्यक्ष र सदस्यको उम्मेदवार तय गर्ने अधिकार सम्बन्धित जिल्ला समितिलाई दिने निर्णय गरिएको छ ।
त्यसरी उम्मेदवार तय गर्दा तलका समितिले तीनजना सम्भावित उम्मेदवारको नाम छनोट गरी जिल्लामा पठाउनुपर्नेछ ।
उपाध्यक्ष गौतमले वडा, गाउँ र नगर समितिको सिफारिसमा वडाध्यक्ष तथा सदस्यको उम्मेदवारी टुंग्याउने अधिकार सम्बन्धित जिल्ला समितिलाई दिइएको बताए ।
तर महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट भने स्थायी समितिले नै गर्ने भएको छ ।
नगर समिति हुँदै सम्भावित तीनजना उम्मेदवारको नाम स्थायी समितिमा पुगाउनुपर्ने र त्यसका आधारमा उम्मेदवार चयन हुने गौतमले बताए ।
गाउँपालिका र नगरपालिकाको प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षको उम्मेदवार तय गर्ने अधिकार भने सम्बन्धित प्रदेश समितिलाई दिएको छ ।
बैठकले स्थानीय आवश्यकताअनुसार अन्य पार्टीसँग उम्मेदवार तालमेल गर्ने अधिकार स्थानीय समितिलाई नै दिएको छ ।
बैठकले पार्टीप्रति बफादार, जनताबीच लोकप्रिय, निर्वाचनमा विजयी हुने निश्चित भएको व्यक्तिलाई प्राथमिकता दिने मापदण्ड तय गरेको छ ।
पार्टी सचिव योगेश भट्टराईका अनुसार उम्मेदवार तोक्दा समावेशीलाई पनि ध्यान दिने निर्णय भएको छ ।












प्रतिक्रिया