२० कार्तिक २०८३, शुक्रबार

स्थानीय तहको चुनावमा महिलाले नेतृत्व दावी गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान, ८ चैत । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सल्यानका महिलाहरुले पनि नेतृत्वको दावी गर्ने भएका छन् । वर्तमान संविधान अनुसार निर्वाचनमा महिलाको सहभागिता अनिवार्य र राजनीतिक चासो बढेसँगै महिलाहरु उत्साहित भएका छन् । सरकारले स्थानीय तहको चुनाव घोषणा सँगै यहाका महिला हरुमा उत्सव छाएको छ ।

अखिल नेपाल महिला संघकी अध्यक्ष सरिता हमालले जिल्लामा क्रियाशिल राजनीतिक दलहरुमा महिलाहरुले नेतृत्व पाउन नसकी रहेको बेला स्थानीय निकायमा महिलाहरुको. नेतृत्वको दावी रहने र नेतृत्वदायी भुमिकामा जसरी पनि पुगेरै छाड्ने बताउनु भयो ।

पहिलेको भन्दा अवस्था धेरे फेरिएको नेपाली काँग्रेस क्षेत्र न १ की सदस्य कमला अधिकारीले बताउनु भयो । अव महिलाले पनि नेतृत्व लिन पाउनुपर्छ र दिइनुपर्छ भन्ने भावनाको विकास भएको छ । उहाँले भन्नु भयो स्थानीय निकायको निर्वाचन पहिले नै भईदिएको भए धेरै महिलाहरुले नेतृत्व गरी सकेका हुने थिए ।

अवसर र मौका दिने हो भने महिलाहरु पनि देशको नेतृत्व गर्न सक्छन भन्ने राष्टपति, सभामुख, प्रधानन्यायधिशबाट पुष्टि भई सकेकाले गाउँ, नगर, वडा तहमा पनि महिलाले नेतृत्व गर्न सक्ने नेकपा माओवादी केन्द्र सल्यानकी जिल्ला सदस्य राधा शर्माले बताउनु भयो । उहाँले भन्नुभयो समाज पनि पहिलेको जस्तो छैन् परिवर्तन हुदै गइरहेको छ । हिजोसम्म महिलाहरु चुलो चौको र घाँसपातमै रहनु पर्छ भन्ने रुढीवादी परम्परा हराउदै गएको छ र अवसर दिनेहो भने पुरुष सरह महिलाले पनि देश हाँक्न सक्छन भन्ने पुष्टि यस पटकको स्थानीय तहको निर्वाचनले गर्ने छ ।

अवको निर्वाचनमा महिलाहरुले नेतृत्व गर्ने छन् । दया, माया, र वाध्यता दिने सहभागिता भन्दापनि नेतृत्व गर्न सक्ने क्षमता छ भन्ने भावनाबाट टिकट दिनु पर्ने नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा पुर्व विधायिका टिका बुढाथोकीको भनाई रहेको छ । महिलालाई सक्षम गराउने उद्देश्यका साथ गाउँ र वडाका महिलालाई प्रशिक्षण थालिएको समेत उहाँको भनाई रहेको छ । अरु क्षेत्रमा भन्दा राजनीतिमा महिलाको सहभागिता सिमित छ । उहाँले भन्नु भयो पहिले चलन थिएन तर अब विस्तारै अवसरसँगै नेतृत्व लिने महिलाको सख्या पनि बढ्दै आउछ ।

जिल्लामा क्रियाशिल दल काँग्रेस, एमाले माओवादी केन्द्र, राप्रपामा सिमित मात्रा मा मात्र महिलाहरुको सहभागिता रहदै आएकोमा अब महिलाहरुको नेतृत्वदायी भुमिकामा पुग्ने जोश र जांगर पलाएको छ ।