
काठमाडौं, १ चैत । माग पूरा नभए सरकारलाई दिएको समर्थन सकिन केही घण्टा बाँकी रहेका बेला भावी रणनीति बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको केन्द्रीय सचिवालय बैठक बस्दै छ ।
काठमाडौंमा बिहान ११ बजेपछि बस्ने दोस्रो तहका नेताहरू सम्मिलित सचिवालयको बैठकमा सरकारले तोकिएको समयभित्र माग पूरा नगरे के गर्ने ? तथा आन्दोलनलाई कसरी अगाडि बढाउने ? भन्ने विषयमा रणनीति परामर्श हुनेछ ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले सरकारलाई दिएको सातदिने अल्टिमेटम सकिन लागेकाले के–कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न मोर्चाको सचिवालय बैठक बस्न लागेको बताए ।
‘माग पूरा भएन भने मधेसी मोर्चा आन्दोलनमा जानुको विकल्प छैन’, उनले भने, ‘अब यथाअवस्थामा बस्दैनौँ । परिमार्जनसहित संविधान संशोधन गरिनुपर्छ । त्यस अगाडि स्थानीय निर्वाचन गर्नु हुँदैन । रोक्नु पर्छ ।’
सचिवालयले तयार पार्ने रणनीति अनुसार बुधबार बस्ने मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठकले ठोस निर्णय गर्नेछ । मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता हुने समय आज मध्यरातिदेखि सकिदैछ ।











प्रतिक्रिया