कपिलवस्तु, ३० फागुन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई कमजोर बनाउने कुनैपनि आपराधिक योजना सफल हुने नदिने बताएका छन् ।
मेची महाकाली अभियानअन्तर्गत जीतपुरमा आयोजित अहिलेसम्मकै सबभन्दा विशाल सभामा बोल्दै महासचिव पोखरेलले एमालेले अगुवाइ गरेर पनि मेची–महाकाली अभियान सिंगो राष्ट्रको अभियान भएकाले आमजनताले उत्साहजनक सहभागिता जनाएको बताए ।
महासचिव पोखरेलले अगाडि भने-
– सामाजिक सद्भाव र साम्प्रदायिक एकता खल्बल्याउन चाहनेहरु सल्बलाउँदैछन्, हाम्रो एकताको बलमा तिनीहरुलाई जवाफ दिनुपर्छ । सामाजिक सद्भावमा टिकेको राष्टिय एकतालाई कमजोर बनाउने कुनै पनि आपराधिक योजना सफल हुने दिने छैनौँ ।
– नेपाली जनताका ९० प्रतिशतभन्दा ज्यादा बढी जनप्रतिधिहरुले हस्ताक्षर गरेर संविधान जारी गरे । त्यसबेला हाम्रा केही छिमेकी हामीलाई आँखा तर्दै थिए । तर, हामीले खुट्टा कमाएनौँ र विगत ६० वर्षदेखि नेपाली जनताले उठाएको आवाजलाई हामीले पूरा गर्यौँ । अहिले त्यही कुरा कतिपयलाई अपच भएको छ । संविधान बनाइरहेको बेला हामीलाई संविधान बनाउन पाउँदैनौ भनेर आँखा तर्ने, धम्की दिने र दवाव दिनेहरु नै अहिले संविधान असफल बनाउन लागेका छन् । हामी उनीहरुको त्यो सपना कदापि पूरा हुन दिने छैनौँ ।
– नेपालको संविधान बनाउने काम छिमेकीको होइन, नेपाली जनताको हो भनेर जसरी हिजो हामीले जवाफ दियौँ र विदेशीको कुनै दाल गलेन, त्यसरी आज उनीहरुको संशोधनको योजनालाई पनि हामी जवाफ दिन्छौँ, असफल पार्छौं । उनीहरुको कोसिसमा देशभित्र रहेका केही मुठ्ठीभर तत्वहरु संविधान च्यात्ने र जलाउनेहरु लागिरहेका छन् । तर, त्यस्तो दूस्साहस गर्नेहरुलाई नेपाली जनताले एकताबद्ध भएर जवाफ दिनुपर्छ ।
– एमाले आफ्ना विचार लिएर तराई, पहाड, हिमाल सबैतिर जान्छ, यो संविधानले हामीलाई दिएको अधिकार हो । कसैले त्यसलाई कटौती गर्न खोज्यो भने एमाले किमार्थ स्वीकार गर्दैन । तराई मधेसका जनता एमालेको पक्षमा उभिएको देखेपछि मधेसवादी दावी गर्ने दलहरु आतंकित भएर आक्रमणमा उत्रिए ।
– एमाले कुनै एक समुदाय, क्षेत्र, जाति वा भाषाको पार्टी होइन, समग्र मुलुकको पार्टी हो । त्यसकारण यसले सबैको प्रतिनिधित्व गर्दछ ।

– एमालेले मधेसलाई समेटेन, संविधान संशोधन गरिदिए हुन्थ्यो भन्ने गरिन्छ । हामी संविधान संशोधनको विपक्षमा छैनौँ, यो गतिशील दस्तावेज हो । तर, यो औचित्यपूर्ण हुनुपर्छ । अहिले संविधान संशोधनका नाममा नेपाललाई कमजोर पार्न खोजिँदैछ । नेपाली र मातृभाषालाई कमजोर बनाएर अर्कैको देशको भाषालाई संविधानमा घुसाउनु नेपाल र नेपालीको हितमा छ ? मैथिली, बज्जिका, अवधि, राई, तामाङ, थारु भाषाका लागि होइन, हिन्दी भाषाका लागि संशोधन ल्याएर विदेशी भाषालाई सरकारी कामकाजको भाषा बनाउन कुनै हालतमा बन्न दिन्नौँ ।
– नागरिकताका विषयमा भ्रम छर्न खोजिएको छ । धनपति उपाध्यायको अध्यक्षतामा आयोग बनाएर यो समस्या सम्बोधन पहिलो पटक हामीले नै गरेका हौँ । कुनै एकजना नेपालीले पनि नागरिकता पाएन भने हामी त्यसको जिम्मा लिन्छौँ तर एकजना पनि विदेशीलाई नागरिकता दिन दिँदैनौँ । संसारका कुनै पनि मुलुकमा नेपालमा जस्तो नागरिकता प्रदान गर्ने उदार व्यवस्था छैन । त्यही भारतमा विहे गरेर जाने नेपाली चेलीले सात वर्ष कुर्नुपर्छ, पाकिस्तानमा पाँच वर्ष, बंगलादेशमा २ वर्ष, भुटानमा विहापछि सन्तान जन्मेर उसले नागरिकता पाउनुपर्छ, माल्दिभ्समा त्यहाँको धर्म स्वीकार गर्नुपर्छ । तर, नेपालमा चाहिँ विहे गरेर आउने महिलाले २४ घण्टाभित्र नागरिकता पाउँछिन् । के अझै पुगेन ? अंगीकृत नागरिकलाई राज्य चलाउन दिन्नौँ, प्रमुख पदमा बस्न पाउँदैन । एमालेले मात्रै उठाएको कुरा होइन, संसारभर यस्तो अभ्यास छ । यो अभ्यास हामीले गर्दा हाम्रो छिमेकीको टाउको किन दुख्यो ?
– संसद्मा प्रतिनिधित्व बखेडा खडा गरेर हिमाली र पहाडी क्षेत्रलाई रित्तो बनाउने योजना बन्दैछ । हामी भूगोल र जनसंख्यालाई समान रुपमा हेर्न चाहन्छौँ, भूगोललाई छाडेर जनसंख्या मात्र भन्ने पक्षमा छैनौँ । त्यही भारतमा पाण्डुचेरीमा ५० हजार जनसंख्याको निर्वाचन क्षेत्र छ भने विहार र मध्यप्रदेशमा ६ लाख जनसंख्याको निर्वाचन क्षेत्र छ ।
– पहिला पाँच नम्बर क्षेत्र टुक्र्याउने अनि त्यसपछि अरु भूभाग पनि टु्क्र्याउने योजना छ । त्यसलाई हामी कदापि पूरा हुन दिँदैनौँ । एक, दुई, तीन कुनै हालतमा प्रदेश नम्बर पाँचका जिल्लाहरुलाई टुक्र्याउन दिन्नौँ ।
– सीमा रक्षाका लागि गोविन्द गौतम मारिए । तर, प्रभुका अगाडि पुष्पकमल दाहाल बोल्न सकिरहेका छैनन् ।
पहाड र तराई छुट्याएर मुलुकलाई कमजोर बनाउने अभियानलाई एमालेले स्वीकार गर्दैन: सचिव विष्ट
केन्द्रीय कमिटीका सचिव गोकर्ण विष्टले राष्ट्रिय एकता, सद्भाव र समृद्धिका पक्षमा रहेका कारण सबै जातजाति, भाषा र संस्कृतिका जनतालाई जोड्ने पुलका रुपमा रहेको चर्चा गरे । उनले भने, ‘संविधान कार्यान्वयन हुन नदिएर नेपाललाई गरिब, अभावग्रस्त र पछ्यौटे राखिरहने कोसिस भइरहेको छ र केही शक्तिहरु त्यसका लागि सक्रियतापूर्वक लागिरहेका छन् । पहाड र तराई छुट्याएर मुलुकलाई कमजोर बनाउने सरकारको अभियानलाई एमालेले स्वीकार गर्दैन, कर्णाली र महाकाली नदी सुक्न सक्छन्, तर एमालेले मान्दैन ।’ उनले अब सुखी र समृद्ध जनताको मुलुक बनाउने संकल्पका साथ आर्थिक सामाजिक रुपान्तरणमा लाग्नुपर्नेमा जोड दिए ।
एमालेलाई मधेसविरोधी भन्नेहरुले इतिहासको अध्ययन गरेनन्ः लालबाबु
केन्द्रीय सदस्य तथा सांसद लालबाबु यादवले एमालेलाई मधेसविरोधी भनेर आरोप लगाउनेहरुले इतिहासको अध्ययन नै नगरेको बताए । एमाले सरकारमा जानुभन्दा पहिला ४६ जना मधेसीहरुको मृत्यु भएको स्मरण गराउँदै एमालेले सरकारको नेतृत्व गरेपछि मधेस आन्दोलन सकिएको, नाकाबन्दी खुलेको, पीडितलाई राहत दिएको, मधेसलाई बजेटको व्यवस्था गरेको बताए ।












प्रतिक्रिया