३१ आश्विन २०८३, शनिबार

‘संविधान पुनरावलोकन गर्न विशेषज्ञहरूको स्वतन्त्र आयोग गठन गरौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, २७ फागुन । ‘ग्लोबल पोलिसी फोरम फर नेपाल’ का अध्यक्ष तथा बेलायतको लीड्स विश्वाविद्यलयका अन्तर्राष्ट्रिय कानूनका प्राध्यपाक ब्यरिस्टेर प्रा सूर्यप्रसाद सुवेदी क्यूसीले नेपाल सरकार तथा सबै प्रमुख दलहरूलाई नेपालको संविधानको पुनरावलोकन गर्न विशेषज्ञहरु सम्मिलित एक स्वतन्त्र आयोग गठन गर्न आव्हान गरेका छन् ।

प्रा सुवेदीले विज्ञप्ति जारी गरेर चारजनाको ज्यान जानुका साथै अरु कैयौं घाइते हुनेगरी सोमबार सप्तरीमा प्रदर्शनकारीहरुमाथि प्रहरीले गोली चलाएको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन् । उनले सबै पक्षलाई अत्यधिक संयम अपनाउन तथा हिंसात्मक गतिविधिमा सहभागी नहुन पनि आग्रह गरेका छन् ।

‘नेपालमा शान्ति अझै धर्मराउंदो स्थितिमा छ । हतारमा र हचुआका आधारमा लेखिएको र देशभित्रकै प्रमुख राजनीतिक शक्तिहरुबीच सहमति कायम नगरिकनै जारी गरिएको संविधान कार्यान्वयनमा अहिले समस्या देखिएका छन् । सबै प्रमुख दलका नेताहरुले नेपालमा प्रजातन्त्रलाई एक उपहास बनाएका छन् । कानूनको शासन कमजोर बनिरहेको छ र शैक्षिक संस्थाहरु, कुटनीतिक सेवा सहित निजामती सेवा, प्रहरी र न्यायालयसमेतमा गरिएको राजनीतिकरणले राज्यका निकायहरु प्रभावकारी भएका छैनन’, उनले विज्ञप्तिमा भनेका छन् ।

बिहीबार जारी आफ्नो वक्तव्यमा प्रा सुवेदीले नेपाल सरकार तथा अन्य राजनीतिक दलहरुलाई नेपाली जनताको वृहत्तर हितकालागि काम गर्न, प्रजातन्त्रप्रति जनताको आस्था बहाल गर्न, कानूनको शासनलाई बलियो तुल्याउन र सबै मानिसलाई न्याय दिने एउटा समावेशी समाज निर्माण गर्न राज्यका निकायहरुमा व्यापक सुधार गर्न पनि आव्हान गरेका छन् । ‘अहिले अगाडिको बाटो भनेको नेपाली समाजका विभिन्न भागबाट उठाइएका मुद्दाहरुलाई संबोधन गर्नेगरी संशोधनकालागि सुझाव दिन नेपाल सरकार र सबै राजनीतिक दलहरुले संविधानको पुनरावलोकनकालागि विशेषज्ञहरु रहेको एक स्वतन्त्र आयोग गठन गर्नु नै हो’, वक्तव्यमा उल्लेख छ ।