– अमरराज पुन
रुकुम, २६ फागुन । नेकपा एमाले जिल्ला कमिटी रुकुमका सचिवालय सदस्य सुरज कुमार परियारलाई उच्च अदालत तुलसीपुरले निर्दोष ठहर गरी सफाई दिएको छ ।
मंगलबार उच्च अदालतले परियारमाथि लगाईएको मुद्धाको विषयमा अन्तिम फैसलाको सुनुवाईमा सफाई दिएपछि रुकुम कारागारमा जेल जीवन बिताईरहेका परियार २ वर्ष ७ महिना २० दिनपछि आजबाट जेलमुक्त भएका छन् । २०७० सालको दोस्रो संविधान सभाको चुनावमा रुकुमको घेत्मा गाविसमा नेकपा माओवादी केन्द्र निकट वाईसीएल र एमालेका कार्यकर्ताबीच भएको दोहोरो झडपको विषयलाई लिएर परियार लगायत अन्य चार जनामाथि अभियोग लगाइएको थियो । घटनामा अभियोग लगाईएका पाँचै जना भने एमाले निकट व्यक्तिहरु हुन् ।
उक्त घटनामा परि रुकुम आठबिसकोट निवासी वाईसिएल कार्यकर्ता नेत्र ओलीको उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो । त्यसपश्चात् सो घटनामा परियारको प्रत्यक्ष संलग्नता रहेको भन्ने उजुरीका आधारमा २०७१ साल भदौ ४ गते जिल्ला अदालत रुकुमको फैसलाले परियारलाई जिल्ला कारागार रुकुममा चलान गर्न आदेश दिएको थियो । कारागार चलानसंगै जेल जीवन बिताएका परियारको मुद्धामा जिल्ला अदालत रुकुमले पटक–पटक फैसलाको सुनुवाई गरे पनि सफाईको विषयमा भने त्यस्तो कुनै फैसला गर्न नसक्दा जिल्ला अदालत रुकुमले उनको मुद्धालाई उच्च अदालत तुलसीपुरमा पठाएको थियो । सो मुद्धा उच्च अदालतमा पठाईएपछि उनीमाथि लगाईएको मुद्धा झुठो भएको ठहर गरी उक्त घटनामा परियारको कुनैपनि संलग्नता नभएको फैसला सुनाउँदै उच्च अदालत तुलसीपुरले उन्लाई मंगलबार सफाई दिएको हो ।
यसैबिच उच्च अदालतले परियारलाई सफाई दिएपछि नेकपा एमाले रुकुमले पार्टी कार्यालय बागबजार, रुकुममा आज एक कार्यक्रमको आयोजना गरी जिल्ला कमिटि रुकुमका सचिवालय सदस्य सुरज कुमार परियारलाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्ने वक्ताहरुले उच्च अदालतले गरेको उक्त निर्णयको समर्थन गर्दै परियारलाई दिएको सफाई नै एमालेको जित भएको बताएका छन् ।
यस्तै आजमात्र जेलमुक्त भएका परियारले पनि लामो समय सम्म जेल जीवन बिताउँदा त्यहाँभित्र केही सःुखद तथा दःुखद क्षणहरु भएतापनि त्यो सम्पुर्ण भोगाई आम रुकुमेली जनताका लागि र सिङ्गो एमाले पार्टीकोे सिद्धान्तमा रही आफुले उक्त जेल जीवन पुरा गरेकोे बताए ।
उच्च अदालतबाट सफाई पाएका नेकपा एमाले जिल्ला कमिटि रुकुमका सचिवालय सदस्य सुरज कुमार परियार प्रेस चौतारी नेपाल, जिल्ला कार्य समिति रुकुमका समेत संस्थापक अध्यक्ष हुन् ।













प्रतिक्रिया