१४ कार्तिक २०८३, शनिबार

एमाले नेताको सामूहिक हत्या गर्ने सुनियोजित प्रयास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २५ फागुन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको भूमिकाप्रति आशंका व्यक्त गर्दै प्रमुख विपक्षी एमालेले सप्तरीको राजविराजमा आफ्ना पार्टीका शीर्ष नेताको सामूहिक हत्या गर्ने सुनियोजित प्रयास भएको आरोप लगाएको छ ।

राजविराजमा एमालेको सभा बिथोल्न प्रदर्शनमा उत्रेका मोर्चाका तीन कार्यकर्ताको प्रहरी झडपमा निधनपछि मेची-काली अभियान स्थगित गरेर राजधानीमा फर्केका एमाले नेताहरूले मंगलबार पार्टी कार्यालयमा पत्रकारसम्मेलन गरी त्यस्तो आरोप लगाएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘राजविराजमा सभा सम्पन्न भएर पार्टीका नेता र कार्यकर्ता राजमार्गतर्फ प्रस्थान गर्न लाग्दा घेरा हाली आक्रमण गरेर नेतृत्वको सामूहिक हत्या गर्ने सुनियोजित प्रयास गरियोु, महासचिव ईश्वर पोखरेलले भने, ‘नेपालको कुनै पनि भागमा कुनै पनि व्यक्ति र संगठनले शान्तिपूर्र्ण रूपमा सभासम्मेलन गर्न पाउने नैसर्गिक अधिकारमाथिको निकृष्ट हमला हो यो ।’

एमालेको अभियान रोक्न मधेसी मोर्चाले लाठी र घरेलु हातहतियारसहित प्रदर्शन थालेपछि एमालेले सम्भावित दुर्घटना रोक्न अभियानको रुट र कार्यक्रम स्थल परिवर्तन गरेको तर त्यसपछि पनि मोर्चाका नाममा हिंसात्मक गतिविधि गरिएको आरोप पोखरेलले लगाए ।

‘स्थिति सामान्य होस् भन्ने आशयका साथ हामीले पूर्वनिर्धारित राजविराजको रंगशालामा सभा गर्ने र राजविराज प्रवेश गर्ने बाटोसमेत परिवर्तन गरेका थियौं । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा शान्तिपूर्ण सभा भइरहेको समयमा मधेसी मोर्चा सम्बद्ध मानिसले बाहिरबाट ढुंगा हान्ने, गालीगलौज गर्ने, अमर्यादित नाराबाजी गर्ने, सुरक्षाकर्मीमाथि ढुंगा, लाठी र पेट्रोल बम प्रहार गर्नेजस्ता आततायी कार्य गरेु, पोखरेलले भने, ‘राजविराज घटना मधेसी मोर्चासम्बद्ध मानिसको जघन्य आपराधिक प्रवृत्ति र कामको कारणबाट भएकाले यसबाट उत्पन्न सम्पूर्ण परिणामको जिम्मेवारी मधेसी मोर्चाले लिनुपर्छ ।’

राजविराज घटनाको यथार्थ छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न एमालेले सरकार र राष्ट्रिय मानवअधिकार आयोगलाई आग्रह गरेको छ । एमालेको अभियानका विषयमा उपप्रधान तथा गृहमन्त्री निधिले दिएका अभिव्यक्ति र सप्तरी घटनापछि त्यहाँ तैनाथ सुरक्षा अधिकारीलाई फिर्ता बोलाउने निर्णयले गृहमन्त्रीको भूमिका शंकास्पद भएको महासचिव पोखरेलले बताए ।

‘सुरक्षा प्रबन्ध थप व्यवस्थित गरेर परिस्थितिलाई सामान्यीकरण गर्नुपर्नेमा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूलाई फिर्ता बोलाउने गृहप्रशासनको निर्णयले अझ आशंका बढाएको छु, महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पूर्वगृहमन्त्री रहेका एमाले उपाध्यक्ष भीम रावलले सप्तरीमा हिंसात्मक घटना हुनुअघि त्यसबारे राज्यलाई जानकारी हुनुपर्ने भन्दै गृहमन्त्रीको भूमिकाप्रति शंका व्यक्त गरे । ‘मञ्चमा बसेका एमालेका शीर्ष नेताहरूको हत्या गर्ने गरी कोही पेट्रोल बम, भाला र लाठी लिएर आउँछ भने त्यसलाई निस्तेज पार्न प्रहरीले गोली चलाउनु सामान्य होु, रावलले भने, ‘गैरजिम्मेवार एवं उत्तेजक अभिव्यक्ति दिने र यस्तो घटना गराउने गृहमन्त्रीले जिम्मा लिनुपर्छ ।’

फागुन २१ गते झापाको काँकडभिट्टाबाट अभियान सुरु भएकै दिनबाट मोर्चाले राजविराजमा एमाले कार्यकर्तामाथि आक्रमण गर्ने, तुल(ब्यानर च्यात्ने, सामान लुट्नेजस्ता क्रियाकलाप गरेको एमालेको आरोप छ । एमालेले फागुन २७ गते हेटौंडाबाट अभियान सुरु गर्ने जानकारी प्रचार विभाग प्रमुख योगेश भट्टराईले दिए ।