चन्द्रौटा, २४ फागुन । महिलामाथि हुने विभिन्न घटना तथा हिंसा गर्नेलाई कानुन बमोजिम दण्ड सजाय दिलाउन आफू सधैं अग्रसर रहने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले उद्घोष गर्नुभएको छ ।
१०७औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्लाको चन्द्रौटामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ ढकालले यस्तो बताउनुभएको हो । “बदलिंदो परिवेशमा कामकाजी महिला, सन् २०३० सम्ममा बरावरी पाइला” भन्ने मूल नारालाई साकार पार्न सबैक्षेत्रबाट निगरानी बढाउनुपर्ने प्रजिअ ढकालले जोड दिनुभयो ।
केही दिनअघि चन्द्रौटामा ६वर्षीय अबोध बालिकामाथि भएको जघन्य हत्याका अपराधीलाई कडाभन्दा कडा कारबाही नगरे आगामी दिनमा फेरि पनि यस्ता घटनाले थप प्रश्रय पाउने महिला अधिकारकर्मी मीना परियारले बताउनुभयो । कार्यक्रमको अवसरमा मानव अधिकार निगरानी समितिका संयोजक माया ज्ञवालीले महिलाहरुको अवस्थाबारे तयार पारिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमा प्रस्तुत विवरण अनुसार २०७२ साउनदेखि ०७३ फागुनसम्म जिल्ला अदालतमा महिलासम्बन्धी घरेलु हिंसा ४० मुद्धा परेकोमा २० मुद्धा फैसला भइसकेको बताइएको छ । यस्तै जबरजस्ती करणीका ३३ उजुरीमध्ये २४ ओटा फैसला भएको कार्यपत्रमा उल्लेख छ ।
मानव बेचबिखनका १३ मुद्धामा १० ओटा फैसला भएको साथै फास्टट्याक मुद्धा ४७ वटा रहेकोमा २४ वटा फैसला भएको बताइएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष ०७२।७३ मा २सय ३७ र आर्थिक वर्ष ०७३।७४को माघसम्म १ सय ६७ उजुरी दर्ता भएको कार्यपत्रमा उल्लेख छ ।
प्रस्तुत कार्यपत्रअनुसार दुई सातामै जिल्लाको पकडी, चन्द्रौटा, पटना, हर्दौना गरी चारवटा बलत्कार जस्ता जघन्य अपराधिक घटना घटेको उल्लेख छ । जसमध्ये ६ वर्षीय निर्दोष बालिकाले ज्यानै समेत गुमाउनु प-यो । यस किसिमका दर्दनाक बलात्कार जस्ता जघन्य अपराध दिनानुदिन वढदै गईरहेका छन् ।
यस्ता अपराध वा हिंसा बढदै जानु र अपराधीहरुले संरक्षण पाउनले नागरिकको सुरक्षाको स्थिति दिनानुदिन नाजुक हुँदै गएको छ । नागरिकका मानवीय हक अधिकारहरु खोसिनु र अपहरण हुनु सामुहिक बलात्कार हुनु, बालिकाको हत्या गरिनु जस्ता अपराधहरु आज सामान्य र स्वभाविक घटना जस्ता भएका छन् । यस्ता घटनाले आम नागरिकमा सुरक्षाप्रतिकोे अनुभुति कमजोर बन्दै गएको कार्यपत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख मेघनाथ पाध्या, जिल्ला प्रहरी उपरीक्षक भोजजङ्ग शाह, विभिन्न संघसंस्था, सहकारी एवं निकायका प्रमुख तथा प्रतिनिधिले महिला हिंसाका घटनामा कमी ल्याउन ऐक्यबद्धता जनाएका थिए । कार्यक्रममा दियालो नेपालकी अध्यक्ष एवं कार्यक्रमकी अध्यक्ष कमला भुसालले सबैको सकारात्मक सोँच र चौतर्फी निगरानी भए महिला हिंसामा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको अवसरमा महिला हिंसा विरुद्ध महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको पूवसन्ध्यामा वृहत शान्ति -यालीसहित चन्द्रौटा बजार परिक्रमा गरिएको आयोजकले जनाएको छ । हरेक वर्ष ८ मार्चका दिन श्रमिक महिला दिवस मनाउने गरिन्छ ।













प्रतिक्रिया