काठमाडौं । थाइल्याण्डमा उपचाररत नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।
बैंककको बुङ्रुंगागार्ड अस्पतालमा ८ दिन अघि पुर्याइएका ओलीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको उहाँसँगै बैंकक पुगेका चिकित्सक डा. दिलीप शर्माले जानकारी दिनुभयो ।
बैंककमा स्वास्थ्य परीक्षणका क्रममा ओलीलाई मेनेन्जाइटिस नै पुष्टि भएको छ । ‘हामीले जे (मेनेन्जाइटिस) भनेका थियौं, त्यही प्रमाणित भयो, अहिले यहीं प्रयोग गरिएको औषधि जारी राखिएको छ । टाउको दुख्ने, ज्वरो तथा बान्ता आउने जस्ता समस्या अन्त्य भएको छ ।’– शुक्रबार बैंककबाट काठमाडौं फर्किएका चिकित्सक शर्माले भन्नुभयो ।
नेता ओली खाना खान र कुराकानी गर्न सक्ने भएपनि आरामका लागि सबै सम्पर्कहरु बन्द गरिएको उहाँले जानकारी दिनुभयो । डा. शर्माका अनुसार, भेट्न र फोनमा कुरा गर्न समेत रोक लगाइएको छ ।
डा. शर्माका अनुसार, अहिले दुई साताको औषधिको कोर्स चलिरहेको छ ।
‘अहिले इन्जेक्सन दिएर फंगस मार्ने काम भइरहेको छ । दुई सातापछि त्यसपछि फेरि ढाडको पानी निकालेर फंगस छ कि छैन भनेर परिक्षण गरेपछि मात्र उहाँको स्वास्थ्य अबस्थाबारे यकिन गर्न सकिन्छ ।’– उहाँले बताउनुभयो ।
नेता ओलीलाई नेपाल आउन कम्तीमा पनि दुई साता लाग्ने डा. शर्माले बताउनुभयो । ‘नेपाल फर्किएपछि उहाँ फेरि सक्रिय राजनीतिमा लाग्नुहुन्छ ।’– डा. शर्माले भन्नुभयो ।
वीर अस्पतालका किड्निी रोग विशेषज्ञ शर्मा लामो समयदेखि ओलीको स्वास्थ्य परिक्षणमा संलग्न हुनुहुन्छ । ओलीसँग निकट भएकै कारण उहाँ सँगै बैंकक पुग्नुभएको हो ।
डा. शर्मा फर्किएपछि थप रेखदेख र उपचारका लागि डा. धर्मकान्त बास्कोटा शुक्रबार नेपालबाट थाइल्याण्ड पुग्नुभएको छ । नेता ओलीको साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, भतिज राजेश बज्राचार्य हुनुहुन्छ ।
(फाइल तस्वीर)














प्रतिक्रिया