१३ कार्तिक २०८३, शुक्रबार

प्रहरीद्वारा अपहरणकारीको इन्काउन्टर !

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । अपहरणमा परेका तीनजनालाई मुक्त गर्ने क्रममा शनिबार दिउँसो स्वयम्भूको भगवान्पाउस्थित टाउन प्लानिङमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान भएको छ ।

गोली हानेर प्रहरीले घटनास्थलबाट एकजनालाई पक्राउ गरेको छ भने त्यसपछि थप तीनजनालाई नियन्त्रणमा लिन सफल भएको छ । प्रहरीले अपहरणमा परेका तीनैजनालाई मुक्त गर्न सफल भएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

अपहरणकारीले बिहीबार बौद्धबाट नुवाकोटका मनदोर्जे तामाङ, विशाल तामाङ र आङदोङ तामाङलाई अपहरण गरेका थिए । अपहरणपछि उनीहरूले फिरौती रकम मागेका थिए । फिरौती रकम दिने नाममा पीडितका आफन्तले बोलाएर प्रहरीले अपहरणकारीलाई पक्राउ गर्न सफल भएको हो ।

उनीहरू अपहरणमा परेपछि महानगरीय प्रहरी अपराध महाशाखामा शुक्रबार खबर पुगेको थियो । सोही आधारमा महाशाखाले अपहरणकारीको खोजी सुरु गरेको थियो । शनिबार दिउँसो फिरौती रकम लिएर पीडित परिवार भगवान्पाउ पुगेको थियो । त्यसपछि अपहरणकारीले स्वयम्भू टाउन प्लानिङमा बोलाएका थिए ।

अपहरणकारीले पीडितका आफन्तलाई फिरौती रकम लिन सुरुमा चाबहिल बोलाएका थिए । त्यसपछि मनमैजु बोलाएका उनीहरूले पछि भगवान्पाउ आउन भनेका थिए । त्यसपछि स्वयम्भूको टाउनप्लानिङमा बोलाएका थिए । आफन्तसँगै महाशाखाको रेस्क्यु टोलीले पिछा गर्दै गएको थियो ।

अपहरणकारीले ६ लाख फिरौती मागेपछि रकम बुझाउने बहानामा अपराध महाशाखाको टोलीले घेरा हालेर नियन्त्रणमा लिन खोजेको थियो । प्रहरीलाई गोली प्रहार गर्न खोजेपछि दुर्गामाथि गोली प्रहार गर्नुपरेको प्रहरी उपरीक्षक ९एसपी० प्रकाशजंग कार्कीले बताए । एसपी कार्कीले अपहरणकारीलाई पक्राउ गर्ने क्रममा सामान्य मुठभेड भएको र घुँडामुनि गोली हान्नु परेको जानकारी दिए ।

रकम लिने क्रममा प्रहरीले अपहरणकारीमध्येका दुर्गा तामाङलाई घुँडामुनि गोली हानेको थियो । उनको वीरअस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको साथबाट सिक्सर पेस्तोल र तीन राउन्ड गोली बरामद भएको छ ।

उनलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएलगत्तै अपहरणकारी समूहका सचिन खवास, वीरबहादुर तामाङ र पदमबहादुर तामाङलाई पनि पक्राउ गर्न प्रहरी सफल भएको थियो । सचिन र वीरबहादुरलाई अस्कल क्याम्पस नजिकबाट पक्राउ गरिएको थियो भने बालाजुबाट माइला भनिने पदमबहादुर तामाङ पक्राउ परेका थिए । पदमबहादुर अपहरणकारीका योजनाकार भएको र उनलाई वीरबहादुरले साथ दिएको प्रहरीले जनाएको छ । वीरबहादुर नवलपरासीका हुन् । उनी नवलपरासी जेलबाट भर्खरै डाका मुद्दाको कैद भुक्तानी गरी निस्केका थिए ।

जेलबाट छुटेपछि उनीहरूले चर्चामा आउन अपहरणको धन्दा सुरु गरेको प्रहरीले अनुमान गरेको छ । खाजा खान बोलाएर उनीहरूले यी तीनजनालाई अपहरण गरेका थिए । खाजा खाने क्रममा मनदोर्जेले पैसा तिरेका थिए । उनको खल्तीमा धेरै पैसा देखेपछि अहपरणकारीले तीनै जनालाई ट्याक्सीमा हालेर लगेका थिए । अपहरणमा परेकाहरूको साथमा रहेको केही नगद तथा सिक्री, घडी पनि लुटेको प्रहरीले जनाएको छ ।