२९ आश्विन २०८३, बिहिबार

प्याकुरेल भन्छन्, नन्दप्रसादको मृत्युलाई न्युयोर्क पुराउँछौं, एमाओवादीलाई चाँहि बधाई !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

subodh-raj-pyakurel

काठमाडौं, ६ असोज । नेपालका चर्चित अधिकारकर्मी एवं इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले नन्दप्रसादको घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने बताउनुभएको छ ।

दैनिक नेपाल डटकमसँग कुरा गर्दै प्याकुरेलले प्रधानमन्त्री सुशील प्याकुरेलले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुभन्दा पहिले नै यो घटनाको फेहरिस्त बनाएर न्युयोर्क (संयुक्त राष्ट्रसंघ)मा पुर्‍याउने बताउनुभयो।

प्याकुरेलको प्रतिक्रियाको सम्पादित अंश यस्तो छ – नेपाल अधिराज्य बने यता राणाशासन, पञ्चायतकाल र बहुदलीय प्रजातान्त्रिक शासनमा नभएको घटना संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा भयो । सिंगो नेपालको इतिहासमा हाम्रो देशको इज्जतमा धब्बा लागेको छ । ३ सय ३३ दिन आमरण अनशन बसेर नेपालमा आजसम्म कसैको ज्यान गएको थिएन । राणा र पञ्चहरुजस्ता निरकुंश शासकहरुले पनि अनशनकारीसँग वार्ता गरी अनशन तोडाएका थिए । तर, अहिलेका लोकतान्त्रिक नेताहरुले कसैले हामीले मारेकै हौ, सक्छस् हामीलाई थुनेर हेर भनेर चुनौती दिए । कसैले ती अनशनकारीलाई बचाउन सक्दिन भनेर पहिल्यै घोषणा गरिदिए ।

म यतिबेला सम्झिरहेको छु, सुशील कोइराला, केपी शर्मा ओली, माधव नेपाल, खिलराज रेग्मी र शेरबहादुर देउवा लगायतका नेताहरुलाई, उहाँहरु सबैले नन्दप्रसादजीलाई न्याय दिने बताउनुभएको थियो । तर, नन्दप्रसाद सँधै भन्नुहुन्थ्यो, मलाई तपाईंहरुले केही गर्न पर्दैन, मेरो छोरा कृष्णप्रसादको हत्याका विषयमा अभियोजन सुरु गर्नुस, नत्र मलाई तपाईंको विश्वास छैन भनेर ।

छ महिना अघि कनकमणि दीक्षित र म उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमलाई भेट्न गएका थियौं । त्यतिबेला उहाँले ‘म नन्दप्रसाद र गंगामायालाई त बचाउन सक्दिन, तर अपराधीलाई कारबाही चाँहि गर्छु’ भन्नुभएको थियो । वामदेवजीको पहिलो वचन पूरा भएको छ । म उहाँलाई सोध्न चाहन्छु– उहाँको दोस्रो वचनचाँहि कहिले पूरा हुन्छ ?

म प्रधानमन्त्री सुशील कोइरालालाई सम्झन चाहन्छु, अहिले अमेरिकामा रहेका प्रधानमन्त्री कोइरालाले संयुक्त राष्ट्रसंघको मञ्चमा उभिएर नेपालको न्याय र मानवअधिकारको विषयमा कस्तो मन्तव्य दिनुहोला ? र, त्यसलाई हामीले कसरी विश्वास गरौंला ।

एकीकृत नेकपा माओवादीका नेताहरुलाई चाँहि म बधाई दिन चाहन्छु । किनभने यो धर्तीमा उहाँहरुलाई कुनै पनि कानुन लाग्दैन । तर, माओवादी लगायत सबै राजनीतिक दलले निधार खुम्च्याएर सोच्नुपर्छ कि अब आइन्दा यो देशमा राजनीतिक दलको छाता ओढेर जस्तोसुकै जघन्य अपराध गर्न पाइन्छ १

प्रधानमन्त्रीको राजीनामा माग्नुहुन्छ कि हुन्न भन्ने दैनिक नेपालको प्रश्नमा प्याकुरेलले यसो भन्नुभयो– राजनीतिमा राजीनामा त्यस्तो देशमा मागिन्छ, जहाँ नैतिकता हुन्छ । तर, जुन देशमा नैतिकता स्खलित भएको छ, त्यो देशमा नैतिक प्रश्नले कुनै महत्व राख्दैन।

यो पनि पढ्नुहोस्:
ब्रेकिङ न्यूज: नन्दप्रसाद अधिकारीको निधन, ३३३ दिन आमरण अनसन बस्दा पनि न्याय पाएनन्
नन्दप्रसादको शव बुझिदिने मानिस समेत भेटिएनन्
नन्दप्रसादको मृत्यु प्रकरण: कमल थापाले प्रधानमन्त्रीको राजीनामा मागे