२९ आश्विन २०८३, बिहिबार

नन्दप्रसाद अधिकारीको निधन, ३३३ दिन आमरण अनसन बस्दा पनि न्याय पाएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

adhikari-damti

काठमाडौं, ६ असोज । शसस्त्र युद्धका समयमा निर्दोष छोरालाई अपहरण गरी हत्या गर्ने माओवादी कार्यकर्तालाई कानुनी सजायको माग गर्दै अनसन बसेका गोर्खाका नन्दप्रसाद अधिकारीको निधन भएको छ ।

पछिल्लोपटक लगातार ३ सय ३३ दिनदेखि अनशन बसेका गोर्खाका नन्दप्रसादको सोमबार साँझ निधन भएको हो । उनकी धर्मपत्नी गंगामाया अधिकारी पनि जीवनकै अन्तिम अवस्थामा पुगेको वीर अस्पतालले जनाएको छ।

३ सय ३३ दिनदेखि अन्न नखाएका अधिकारी दम्पत्तीको अवस्था जटिल बनेपछि मानवअधिकार आयोगका नवनियुक्त सदस्य सुदीप पाठक, प्रधानमन्त्री कार्यालयका उपसचिव विनोदकुमार गौतम, अधिकारकर्मीहरु सुबोधराज प्याकुरेल र कनकमणि दीक्षित मंगलबार अस्पताल पुगेर उपचारमा संलग्न चिकित्सकहरुसँग छलफल गरेका थिए ।

लामो समयदेखि अन्नपानी त्याग गरेका अधिकारी दम्पत्तीलाई अक्सिजन र घाँटीनेर प्वाल पारी नलीबाट प्रोटिन दिएका थिए ।

‘नन्दप्रसादको पानी पनि निल्न सक्ने अवस्था रहनेछ, बढीमा ७० हुनुपर्ने नाडीको चाल पनि १ सय ४० पुगेको छ । उहाँले आँखा एकोहोरो हेरिरहनुहुन्छ, आँखा बन्द हुँदैनन्’ –  वीर अस्पताल पुगेका अधिकारकर्मी प्याकुरेलले सोमबार दिउँसो दैनिक नेपाल डटकमसँग भनेका थिए । दैनिक नेपालले उहाँका बारेमा सोमबार दिउँसै समाचार ब्रेक गरेको थियो ।

०६४ सालमा माओवादीद्वारा अपहरण गरी हत्या गरिएका कान्छो छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै नन्दप्रसादले पत्नी गंगामायासँगै अनसन सुरु गरेका थिए । लोकतान्त्रिक राज्य व्यवस्थामा न्याय माग्दै सयौं दिन भोक हड्ताल गर्दा पनि राज्यले उनीहरुको माग सुनुवाई गरेन ।