स्याङ्जा, २० फागुन । ‘चुनाव हारेर म मरेकी होइन। आजसम्म मलाई जसले जस्तो व्यवहार गरे पनि कसैलाई नभनी सहेरै बसेकी थिएँ । बाँच्ने रहर थियो तर इज्जतै नरहेपछि बाँच्ने रहर मर्दो रहेछ । बाबा, आमा, दाइ, दिदी, भाउजू र साथीहरू, मलाई माफ गरिदिनु । तपाईंहरूबाट धेरै टाढा जाँदैछु’ भन्ने आशयको पत्र लेखेर १९ वर्षीया रीमा क्षत्री बिहीबार बिहान आफ्नै घरको बार्दलीमा मृत अवस्थामा भेटिइन् ।
बिहान ८ बजे टिनको छानो भएको घरको बार्दलीमा सलको पासो लगाएको अवस्थामा उनलाई भेटिएको प्रहरीले जनाएको छ । स्वतन्त्र विद्यार्थी युनियनको बुधबार भएको निर्वाचनमा सिद्धार्थ बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघका तर्फबाट अध्यक्ष पदकी उम्मेदवारसमेत हुन् उनी । अखिलकी प्रतिष्ठा कार्कीसँग उनी पराजित भएकी थिइन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
आफ्नो पराजयलाई स्वीकारेकी उनी सोही दिन साँझ सदरमुकाम आएकी थिइन् । सदरमुकामस्थित त्रिभुवन आदर्श क्याम्पसमा नेविसंघका सुनील चापागाईं विजयी भएपछि उनको विजयी र्यालीमा सहभागी भएर साँझ ८ बजेपछि साथीहरूसँगै उनी घर फर्केकी हुन् । घर पुग्नुअघि नै उनका बाबु भीम क्षत्री छोरीलाई लिन बाटोसम्म आएका थिए ।
बाबुछोरी सँगसँगै घर पुगेपछि भोलि बिहान निर्वाचनका कुरा गरौंला, आज थकाइ लागेको छ भन्दै उनी सुत्न गएको बाबु भीमले रुँदै भने । ‘बाबा यसपटक म हारें । अर्कोपटक चुनावमा उठेर जित्छु भन्दै हातमा नेविसंघको झन्डा देखाएकी छोरीको यो दुर्गतिको दिन देख्नुपर्यो’ भन्दै बाबु पिरोलिएका छन् । आमा अर्धचेत छिन् । बाबु पनि २ पटकसम्म बेहोस भएर लडे ।
स्याङ्जाको फेदीखोला गाविस ९ स्थित डाँडागाउँकी क्षत्री फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययरत थिइन् । अत्यन्त सुन्दर, बोलीमा मिठास, पढाइमा जेहेनदार छात्रा थिइन् उनी । विद्यालय, क्याम्पस होस् वा घरपरिवार पनि उनी अत्यन्त मिलनसार र सहयोगी भएको बताउँछिन् स्थानीय रेखा थापा । फेदीखोलाबाटै एसएलसीपछि स्नातकसम्म अध्ययन गरेकी हुन् उनले ।
बिहीबार बिहान बाबु, आमा र छोरीले सँगै चिया पिएका थिए । त्यसपछि बाबुआमा धान कुटाउन र मकै पिसाउन गाउँको मिलतर्फ लागे । आमाले रीमालाई सँगै मिल जान आग्रह गर्दा शरीरभरि अबिरैअबिर छ । म नुहाइधुवाइ गर्छु । हजुरहरू जानुस् भनेर पठाएपछि घटना भएको हुनसक्ने प्रहरी निरीक्षक सुनीलकुमार प्रधानले बताए । धेरै समयसम्म रीमालाई नदेखेपछि भाउजुले खोजी गर्दै कोठामा जान लाग्दा बार्दलीमा सलको पासोमा झुन्डिएको अवस्थामा उनी भेटिएकी हुन् ।
जिल्ला अस्पतालमा पोस्टमार्टमपछि पोखरास्थित रामघाटमा बिहीबार साँझ उनको अन्त्येष्टि गरिएको छ । बहिनीलाई यो अवस्थामा पुर्याउन बाध्य पार्ने व्यक्ति खोजी गरी कारबाही गर्न अनुरोध गर्दै उनका दाजुले बिहीबार प्रहरीमा जाहेरी दिएका छन् ।
उनका एक दिदी, ३ दाजु र भाउजुहरू छन् । सबैकी प्रिय रीमाको मृत्युको खबरले परिवार र गाउँ नै शोकाकुल छ । मृत्यु किन र के कारणले हुन पुगेको हो भन्ने अनुसन्धानपछि थाहा हुने र अनुसन्धान सुरु गरिसकिएको प्रहरी उपरीक्षक देवबहादुर बोगटीले बताए ।












प्रतिक्रिया