१९ कार्तिक २०८३, बिहिबार

कपिलवस्तुका दुई क्याम्पस स्ववियू सभापतिमा राप्रपा विजयी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा, १९ फागुन । कपिलवस्तुको ४ वटा क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । चारओटै क्याम्पसमा सौहाद्र्रपूर्ण वातावरणमा स्ववियु निर्वाचन सम्पन्न भएको क्याम्पस निर्वाचन समितिले जनाएका छन् ।

जिल्लाको सिद्धार्थ बहुमूखी क्याम्पस बुङ्घची, बाणगंगा बहुमुखी क्याम्पस लौगाई, नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुर, समयथान बहुमुखी क्याम्पस खरेन्द्रपुरमा बुधबार निर्बाचन सम्पन्न भएको हो ।

जसमध्ये जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने नेपाल आदर्श वहुमुखी क्याम्पस र समयथान वहुमुखी क्याम्पसमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सभापतिमा विजयी भएका छन् ।

जसअन्तर्गत नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका रजत गुप्ता विजयी बनेका छन् । कूल १९६ मतदातामध्ये खसेको कूल १७५ मतमध्ये गुप्ताले ६१ मत प्राप्त गरेका छन् । प्रतिद्वन्दी अनेरास्ववियूका अशोक पोख्रेल ५ मतले पछाडि परे ।

पोख्रेलले ५६ मत प्राप्त गरेका थिए । सभापतिका दाबेदार नेविसंघका सुनिल थापा क्षेत्रीले २५ मत र अनेरास्ववियू (क्रान्तिकारी) का शिशिर लामिछानेले भने २२ मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिवमा राप्रविसंघका मार्सल आचार्य ५४ मत प्राप्त गरी विजयी बनेका छन् । सचिवका दाबेदार नेविसंघका दिपेन्द्र मौर्यले ५० मत पाएका थिए । यसैगरी कोषाध्यक्षमा अखिल प्यानलबाट अनुप के.सी. विजयी बनेका छन् । उनले ६३ मत पाएका थिए ।

प्रतिद्वन्दी राप्रपाका लक्ष्मण थारुले ४५ भोटमा सीमित भएका थिए । यस्तै सदस्यमा तीन जना अखिल संयुक्त प्यानलका शारदा भण्डारीले ५४ मत, सरिता खत्रीले ५९ मत र अमृता रेग्मीले ५४ मत प्राप्त गरी विजयी भएको निर्वाचन मण्डलले जनाएको छ ।

समानुपातितर्फ अनेरास्ववियूले ५७ मत प्राप्त गरेको निर्वाचन मण्डलले जनाएको छ । यस्तै राप्रविसंघले ४९, नेविसंघले ३२, अनेरास्ववियू क्रान्तिकारीले १४ र अखिल क्रान्तिकारीले ६ मत पाएको थियो । समानुपातिकतर्फ १६ मत बदर भएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।
यता समयथान बहुमुखी क्याम्पस खरेन्द्रपुरमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक संगठनका बासुदेव के.सी. विजयी बनेका छन् । कूल ५२ मतदातामध्ये खसेको ५१ भोटमध्ये के.सी.ले २७ मत पाई विजयी बनेका हुन् ।

प्रतिद्वन्दी अनेरास्ववियूका शिव भुसालले २१ मत पाएका थिए भने नेविसंघ, अनेरास्ववियू (क्रान्तिकारी) र नयाँ शक्ति नेपालको संयुक्त प्यानलको तर्फबाट सभापतिको दाबेदार नेविसंघका रोशन नेपालीले ३ मत पाएका थिए । सचिव पदमा नेकपा एमाले निकट अनेरास्ववियूका कृष्ण घिमिरेले २८ मत ल्याई विजय भएका छन् । कोषाध्यक्षमा अनेरास्ववियूकै विनिता गौतम २७ मत ल्याई विजय भएकी छन् ।

सदस्यहरुमा मधु भुसाल, नेहा पाण्डे, विरेन्द्र गुप्ता विजय भएको निर्वाचन मण्डलले जनाएको छ । यसैगरी समानुपातिकतर्फ अनेरास्ववियूले २९ मत ल्याएर विजयी भएको छ भने राप्रपाले १६ मत ल्याएको बताइएको छ ।

जिल्लाकै सबैभन्दा ठूलो क्याम्पस सिद्धार्थ क्याम्पस बुङ्चीमा पनि स्ववियु निर्वाचन सम्पन्न भएको छ । कुल ११ सय ६० मतदातामध्ये ९सय ३९ मत खसेको निर्वाचन अधिकृत खेमराज शर्माले जानकारी दिएका छन् । उक्त क्याम्पसको मत परिणाम रातिसम्म सर्वाजनिक गर्ने निर्वाचन समितिले जनाएको छ ।

उता बाणगंगा बहुमुखी क्याम्पस लौगाईको समेत मत परिणाम आउन बाँकी रहेको बताइएको छ । भने बुधबार नै हुने भनिएको बुद्धभूमि बहुमुखी क्याम्पस चौवन्नपुरमा निर्वाचन स्थगित भएको छ । विवादका कारण नेविसंघले क्याम्पसमा तालाबन्दी गरेको हो ।

पहिले ८ वटा क्याम्पसमा निर्वाचन हुने भनिएपनि मधेशी मोर्चा निकट विद्यार्थी संगठनका विरोधका कारण कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवा, फलारीबाबा बहुमुखी क्याम्पस महाराजगञ्जमा भने निर्वाचन हुन सकेन । यस्तै गौतमबुद्ध बहुमुखी क्याम्पस गोरुसिंगेमा उम्मेदवारको नामका विषयमा भएको विवादका कारण निर्वाचन हुन नसकेको बताइएको छ ।