१३ कार्तिक २०८३, शुक्रबार

दूतावासभित्रै भक्कानिएर रोए रञ्जित रे !

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासमा भएको विदाइ कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजित राय (रञ्जित रे) भावुक बनेर प्रस्तुत हुँदा उपस्थित कर्मचारीहरूमा केही बेर सन्नाटा छायो । ड्यासमा सम्बोधन गर्न उभिएका रे आफै भक्कानिएपछि कार्यक्रम नै भावुक बनेको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

आफ्ना क्रियाकलापले नेपाली जनताको मनमा बस्न नसकेका राजदूत रेले सधै नेपाली राजनीतिमा हस्तक्षेप गरेको आरोप छ । अझ मधेस केन्द्रित दलका नेताहरूलाई उचालेर नेपालमा सधै राजनीतिक अस्थिरता मच्चाउन खोजेको रेलाई आरोप छ । कार्यक्रमभरि आफूले गरेका कामको प्रशंसा गरेका राजदूत रेले दूतावासभित्रका सबै कर्मचारीहरूलाई धन्यावाद दिएका थिए ।

अरु बेला कठोर देखिने राजदूत रे विदाइ कार्यक्रममा भने अत्यन्तै भावुक बनेर आँशु झारेको एक सहभागीले बताए । ‘महामहिम राजदूत रञ्जित रे ड्यासमा उभिएर सम्बोधन गर्ने बेला भक्कानिनु भयो’, ती सहभागीले भने,‘कार्यक्रममा सहभागी हामी सबै भक्कानियौं । हलभित्र केही बेर सन्नाटा छायो ।’

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको सधै आलोचना खेप्दै आएका रेले सोमबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा विदाइ भेट गरेका थिए । यसअघि उनलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, सद्भावना पार्टीको गजेन्द्र नारायण सिंह लोककल्याणकारी प्रतिष्ठान, पताञ्जली योग प्रतिष्ठानको नेपाल शाखा, तमलोपाकी नेतृ चन्दा चौधरीको संस्थासहितले राजदूत रेलाई विदाइ कार्यक्रम गरेर सम्मान गर्नुका साथै उपहार दिएका थिए ।

यतिसम्मकी मधेसी मोर्चाले काठमाडौंको लाजिम्पाटमा रहेको होटेल -याडिसनमा ककटेल डिनरसहितको रात्रिभोज राखेर विदाइका साथै सम्मान गरेको थियो । कार्यक्रममा मधेसी मोर्चाका साथै कांग्रेस, राप्रपा, नेपाल परिवार दललगायतका सीमित नेताहरू उपस्थित थिए । एमाले र माओवादीले भने ककटेल डिनरसहितको राजदूत रेको कार्यक्रमलाई बहिष्कार गरेका थिए । नेपालका लागि भारतीय राजदूत रेले अनिर्वाय अवकास पाएका हुन् । उनको स्थानमा नयाँदिल्लीले मञ्जिवसिंह पुरीलाई सिफारिस गरिसकेको छ ।