काठमाडौ, १८ फागुन । आतंकवादको चुनौतीलाई ध्यान दिँदै चिनियाँ सेनासँग हुने सैन्य अभ्यासको अन्तिम तयारी गर्न नेपाली सेनाको उच्च टोली मंगलबार चीन गएको छ ।
सेनाको विशेष सुरक्षा बलका बाहिनीपति सहायकरथी झंकर कठायत नेतृत्वको टोली संयुक्त अभ्यासको मोडालिटीलाई अन्तिम स्वरूप दिन चीन गएको हो । टोलीमा युद्धभैरव गणका कमान्डेन्ट महासेनानी मदन केसी पनि सहभागी छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
विश्वभर बढ्दो आतंकवादको चुनौतीलाई ध्यानमा राखेर पहिलोपटक सेनाले चिनियाँ जनमुक्ति सेनासँग संयुक्त सैन्य अभ्यास गर्न लागेको हो । अभ्यास चैत तेस्रो साता (मार्च महिनाभित्रै) गर्ने तयारी भइरहेको सैनिक स्रोतले उल्लेख गरेको छ ।
सेनाले सैन्य कूटनीतिका माध्यमबाट मित्रराष्ट्रका सैनिक संगठनसँग द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन विभिन्न राष्ट्रसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।
नेपाल-चीन संयुक्त अभ्यासलाई ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप फस्र्टु नाम दिइएको छ । टोलीले चिनियाँ जनमुक्ति सेनासँग समन्वय गरी अभ्यासको मिति, स्थान र रूपरेखा (मोडालिटी) टुंगो लगाउने सैनिक स्रोतले बताएको छ ।
सेनाका प्रवक्ता ताराबहादुर कार्कीले चिनियाँ सेनासँग हुने सैन्य अभ्यासको तयारी अन्तिम चरणमा पुगेको बताए । प्रवक्ता कार्कीले भने, ‘दुवै पक्ष अन्तिम तयारीमा जुटेका छन् । संयुक्त अभ्यासको मिति छिट्टै तय हुन्छ ।’ चीनमा दुवै देशका सैनिक अधिकारीको बैठकले अभ्यासमा सहभागी हुने सैनिक संख्या निर्धारण गर्नेछ ।












प्रतिक्रिया