काठमाडौं, १८ फागुन । संविधान संशोधन विधेयकलाई अघि बढाउने विषय टुंगोमा पुग्न नसकेका कारण व्यवस्थापिका–संसद्को बैठक स्थगित भएको छ ।
संविधान संशोधन विधेयकसम्बन्धी कार्यसूची तय गर्न नसक्ने अवस्था आएपछि १९ फागुन (बिहीबार) बोलाइएको संसद् बैठक स्थगित गरिएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
वैठक बस्नु एक दिनअघि (बुधबार) संसद् सचिवालयले सूचनामार्फत बैठक २७ फागुनसम्मका लागि स्थगित भएको जनाएको छ । संविधान संशोधन विधेयकमा संशोधनका लागि आइतबारसम्मको समयसीमा तोकिएको थियो ।
तोकिएको समयमा प्रदेशहरू थप गर्नेदेखि प्रदेश टुक्र्याउनेसम्मका संशोधन दर्ता भएपछि त्यसलाई कसरी अघि बढाउने भन्ने अन्योलले बैठक स्थगित भएको हो ।
संशोधनलाई प्रक्रियामा लगेर टुंगोमा पुर्याउनुअघि दलका शीर्ष नेतृत्व तहमा छलफल आवश्यक देखिएकाले बैठक स्थगित गरिएको संसद् सचिवालय स्रोतले जनाएको छ ।
१९ फागुनका लागि तय भएको बैठकको कार्यसूचीमा पनि संशोधनको विषय भने उल्लेख छैन । सो बैठकका लागि सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीशको पारिश्रमिक र सेवा सुविधासम्बन्धी विधेयकहरू र महाअभियोग प्रस्तावलाई स्वीकृतिका लागि प्रस्ताव गर्ने कार्यसूची तय गरिएको थियो ।
मधेसवादी दलहरूले संविधान संशोधन नगरी निर्वाचनमा भाग नलिने बताइरहेका बेला संविधान संशोधन विधेयकलाई संसद्मा अगाडि बढाउने कार्य अनिश्चित छ ।
यता गृहमन्त्री उपस्थित नभएका कारण राजनीतिक दलसम्बन्धी विधेयकलाई पनि राज्य व्यवस्था समितिले अन्तिम निर्णय गर्न सकेको छैन ।
शोधनको समय सकिएपछि त्यसलाई संसद् बैठकले एउटा विकल्पमा पास वा फेलको प्रक्रियामा लैजानुपर्ने हुन्छ भने अर्को विकल्पमा विशेष समिति गठन गरेर लैजानुपर्ने हुन्छ । तर, मंगलबार सूचना जारी गर्दै बिहीबार बोलाइएको बैठक २७ गते शुक्रबार १ बजेसम्म स्थगित गरिएको हो ।












प्रतिक्रिया