बेल्जियम । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा सीता सापकोटाले उम्मेदवारी दिएकी छिन् ।
गैरआवासीय नेपाली संघ बेल्जियमको कार्यसमिति सदस्य रहेर काम गरिरहेकी उनले बद्लिएको अवस्थामा संस्थालाई फरक ढंगले नेतृत्व गर्न आफूले उम्मेदवारी दिएको बताइन् । एनआरएन आइसीसीको महिला टास्कफोर्स उपसंयोजक समेत रहेकी उनको प्रतिस्पर्धा माधव सापकोटासँग हुने भएको छ ।
दुई सापकोटाबीच प्रतिस्पर्धा हुन लागेको अवस्थाबारे जावाफ दिँदै उनले यो लोकतान्त्रिक प्रक्रिया भएको उल्लेख गरिन् । ‘स्वच्छ प्रतिस्पर्धामा जाउँ, नैतिकता नछोढौ र मैदान पनि नछोडौँ, सम्मानित र भद्र शब्द प्रयोग गरौँ’, चुनाबी माहोलबीच उनले आफ्ना प्रतिस्पर्धीलाई सम्बोधन गर्दै भनेकी छन् ।
२०५० सालमा नेविसंघ चितवनको सचिवको जिम्मेवारी सम्हालेकी उनी पछि तरण दल चितवनको उपाध्यक्ष भएकी थिइन् । २०६४ मा नेपाल तरुण दल केन्द्रीय समितिको महिला उपप्रमुखको जिम्मेवारी सम्हालेकी उनी पछिल्लो समय कांग्रेस महासमिति सदस्य छिन् ।
क्षमता र योगदानका आधारमा आफूले उम्मेदवारी दिएको उनको भनाई छ ।
आगामी मार्च ५ मा जनसम्पर्क समिति बेल्जियमको अधिवेशन सुरु हुँदैछ । अधिवेशनमा कांग्रेस महामन्त्री शशांक कोइराला, प्रवास हेर्ने केन्द्रीय प्रतिनिधि सुरेन्द्र पाण्डे तथा केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी र एनपी साउद सहभागी हुनेछन् । नयाँ नेतृत्व चयनका लागि १२ मार्चमा निर्वाचन हुनेछ ।
करिब ६ हजार नेपाली रहेको बेल्जियममा जनसम्पर्क समितिका १ हजार ३ सय २६ सदस्य छन् ।















प्रतिक्रिया