काठमाडौँ । नेपालबाट हरेक बर्ष पाँच लाखको हाराहारीमा युवाहरु विदेशिने गरेको पाइएको छ ।
२०७० सालमा नेपालबाट चार लाख ९२ हजार ५ सय ३२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । गत वर्ष वैशाखदेखि चैत्र मसान्तसम्म रोजगारीका लागि विदेशिनेमध्ये चार लाख ६१ हजार ७६९ जना पुरुष र ३० हजार ७६३ जना महिला रहेका छन् ।
वैदेशिक रोजगार विभागमार्फत रोजगारका लागि स्वीकृत लिएर जानेको सङ्ख्या चार लाख ९२ हजार ५३२ भए पनि विभागको स्वीकृत बेगर जाने, पढ्नका लागि भनेर गएर काम गरेर बस्ने र भारतीय भूमि भएर जाने नेपाली कामदारको सङ्ख्या भने यकिन गर्न गाह्रो छ ।
वैदेशिक रोजगारीका लागि भारत हुँदै बर्सेनि करिब एक लाख नेपाली कामदार जाने गरेको श्रम क्षेत्रमा कार्यरत व्यवसायीको अनुमान छ ।
भारत हुँदै विदेशिनेको संख्या उल्लेख्य रहेको तर कति संख्यामा त्यसरी गए होलान् भनेर अनुमान गर्न गाह्रो हुने वैदेशिक रोजगार विभागका प्रवक्ता बद्रीकुमार कार्की बताउनुहुन्छ ।
वैदेशिक रोजगारीमा जानेको तथ्यांकअनुसार औसतमा प्रतिमहिना ४१ हजार ४४ रहेको छ भने प्रत्येक दिन एक हजार ३४९ नेपाली विदेसिने गरेका छन् ।
जसमध्ये गत वर्ष सबैभन्दा बढी असार महिनामा ५० हजार ४५३ जना वैदेशिक रोजगारीमा गएका थिए भने सबैभन्दा कम भदौ महिनामा २४ हजार २१४ जना वैदेशिक रोजगारीमा गएका थिए ।
२०६९ सालमा नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या चार लाख ३३ हजार २६ रहेकामा २०७० सालमा ५९ हजार ५ सय ६ ले बढेर चार लाख ९२ हजार ५ सय जना पुगेको छ ।
विभागका प्रवक्ता कार्की विदेशमा गएर दुःख पाउनेमा अधिकांश कामदार भारत हुँदै तेस्रो मुलुकमा जाने पाइएको बताउँदै जनचेतनाको अभावमा दलालले त्यसरी तेस्रो मुलुकमा लैजाने गरेको बताउनुहुन्छ ।
विशेषगरी नेपाली महिला कामदारलाई खाडीलगायतका देशमा रोजगारीका लागि कडाइ गरेकाले दलालहरूले भारत हुँदै ती मुलुकमा महिलालाई ओसारपसार गरिरहेका छन् ।
त्यस्ता महिलाहरू यौन शोषण र श्रम शोषणमा बढी पर्ने गरेको देखिएको छ । लुकेर भारत हुँदै गएकाले नेपाली दूतावासमा सम्पर्क गर्न पनि गाह्रो हुने तथा दलालले पासपोर्टलगायतका सामग्री जाने वित्तिकै आफ्नो कब्जामा राख्ने भएकाले ती महिला झनै शोषणमा पर्ने गरेका छन् ।
नेपालमा आवश्यक मात्रामा रोजगारीको अवसर नहुँदा अहिलेको युवापुस्ता विदेशिन बाध्य छन् । तर पछिल्लो समय विदेशबाट नेपाल फर्किएका गाउँघरमै गाईपालन, कुखुरापालन, बाख्रापालन, तरकारीखेतीलागायत विभिन्न नयाँ प्रविधि निर्माणसमेतको काम गर्न थालेका छन् ।
यस्ता कार्यहरूले इच्छा शक्ति हुने हो भने गाउँघरमै कृषिमार्फत सम्मानजनक जीवन जीउन सकिन्छ भन्ने सन्देश प्रभावित गर्न सफल भएको छन् । प्रवक्ता कार्की नेपालको आर्थिक मेरुदण्डको प्रमुख माध्यम विदेशिएका नेपालीले पठाएको विप्रेषण भएकाले वैदेशिक रोजागरीलाई नियन्त्रण गर्नेभन्दा पनि व्यवस्थित गर्नु अहिलेको आवश्यकता भएको बताउनुहुन्छ ।
वैदेशिक रोजगारीका शीर्ष पाँच गन्तव्य मुलुक
नेपालीहरू वैदेशिक रोजगारीका लागि जाने पाँच शीर्ष मुलुकहरूमा क्रमशः मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स(दुबई) र कुवेत रहेका छन् ।
गत वर्ष मलेसियामा सबैभन्दा बढी नेपाली रोजगारीमा गए । एक लाख ६६ हजार ८९८ जना नेपाली कामदारले मलेसियालाई आफ्नो गन्तव्य बनाए । जसमध्ये एक लाख ६१ हजार ६९२ जना पुरुष र पाँच हजार २०६ जना महिला थिए ।
त्यसैगरी नेपालीको प्रमुख दोस्रो गन्तव्यका रूपमा कतार रहेको छ । गत वर्ष एक लाख १२ हजार ७९ कतार गएकामा एक लाख १० हजार ४८५ जना पुरुष र एक हजार ५९४ जना महिला थिए ।
त्यसैगरी तेस्रो गन्तव्य रहेको साउदी अरबमा ७३ हजार ६०८ पुरुष र ७८० महिला गरी ७४ हजार ३९१ जना नेपाली रोजगारीका लागि सो मुलुकमा गएका थिए ।
चौथो प्रमुख गन्तव्यका रूपमा रहेको दुबईमा ४३ हजार ६३० पुरुष र पाँच हजार चार जना महिला गरी ४८ हजार ६३४ जना नेपाली गत वर्ष राजगारीका लागि गएका थिए ।
त्यस्तै पाँचाँै प्रमुख गन्तव्य रहेको कुवेतमा ११ हजार ५०७ पुरुष र नौ हजार २१७ महिला गरी २० हजार ७२४ जना नेपाली रोजगारीका लागि गएका थिए ।
मलेसियाको हावापानी नेपालको जस्तै भएकाले त्यहाँ गएर काम गर्न सजिलो हुने हुनाले अधिकांश नेपाली कामदार मलेसियालाई आफ्नो गन्तव्य बनाउन चाहेको देखिन्छ ।
विभागका प्रवक्ता कार्की मलेसियाको हावापानी राम्रो हुनुका साथै सो मुलुकबाट नेपाली कामदारको अत्यधिक माग हुने गरेकाले सो मुलुकमा सबैभन्दा बढी नेपाली कामदार गएको बताउनुहुन्छ ।
मलेसियामा सेक्युरिटी गार्डमा काम गर्ने प्रायः सबै व्यक्ति नेपाली नै रहेका छन् । सो मुलुकले पनि सेक्युरिटी गार्डमा नेपालीलाई नै प्राथमिकता दिने नीति लिएको छ ।
त्यस्तै नेपाली रोजगारीमा जाने दोस्रो प्रमुख मुलुक रहेको कतार पछिल्लो समय आर्थिक क्षेत्रमा उदाउँदो मुलुक हो । कतारले सन् २०२२ मा विश्व कप फुटबलको आयोजना गर्न लागेकाले सो मुलुकमा नेपाली कामदारको अत्यधिक माग रहेको प्रवक्ता कार्की बताउनुहुन्छ ।
श्रम क्षेत्रमा कतारबाट आउने कामदारको माग उल्लेख्य रहेको र मागअनुसार कामदार पठाउन नसकिएको वैदेशिक रोजगार व्यवसायी बताउँछन् ।
रासस














प्रतिक्रिया