काठमाडौँ, ५ असोज । आईएमईले नेपालमै पहिलोपटक रेमिटेन्स सेवाग्राहीहरुको लागि आईएमई रेमिट कार्ड सेवाको शुरुवात गरेको छ।
ग्लोबल आईएमई बैंक र अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी भिजाको सहकार्यमा आईएमईले यस्तो सेवा ल्याएको हो ।
नेपाल राष्ट्र बैंकको ईजाजत लिई सञ्चालनमा ल्याईएको यो सेवामा अन्तर्राष्ट्रिय ट्रान्जेक्शन गर्ने सेवाग्राहीहरुले सेवा प्राप्त गर्न सक्नेछन्।
आईएमई रेमिट कार्डबाट सेवाग्राहीले विदेशबाट पठाएको रेमिटेन्स रकम कार्डको माध्यमबाट नजिकको एटीएम लोकेशनबाट लिन सक्नेछन्।
विदेशबाट रेमिटेन्स रकम पठाउने व्यक्तिले सिधै रेमिटेन्स रकम रेमिटेन्स कार्डमा रकमान्तर गर्न सक्नेछन्।
यसरी जम्मा भएको रकम नेपालमा रेमिटेन्स कार्डबाट विभिन्न एटीएम लोकेशनबाट नगद रकम प्राप्त गर्न सक्नेछन् साथै पिओएस मेशिन जडित कुनैपनिमर्चेन्ट लोकेशनमाभुक्तानी गर्न कार्ड प्रयोग गर्न सक्नेछन्।
यसबाट सेवाग्राहीको समय बचत हुनुको साथै उच्चतम् बैकिङ सेवाको पहुँच समेत प्राप्त गर्नेछन्।
यतिमात्र नभई कार्ड प्राप्त गरेका सेवाग्राहीहरुले उक्त कार्डमा आफूले प्राप्त गरेको रेमिटेन्स रकम पुरै वा आंशिक रुपमा पनि आईएमई सेन्टरमार्फत जम्मा गर्न सक्नेछन् र नेपालका जुनसुकै स्थानमा रहेका एटीएम लोकेशनबाट रकम प्राप्त गर्न सक्नेछन्।
आईएमई रेमिट कार्डपनि बैंकहरुले जारी गर्ने चल्तीका कार्डहरुकै प्रविधिमा जारी हुने भएकोले यसको प्रयोग र सुरक्षापनि त्यसै अनुरुपनै हुनेछ।
यसको लागिपनि एटीएम लोकेशनमा गएर रकम प्राप्त गर्न गोप्य पिन नम्वर प्रदान गरिएको हुन्छ।
‘आईएमई रेमिट कार्ड सेवाको औपचारिक शुरुवातसँगै बैकिङ सेवाको पहुँचमा पुग्न नसकेका रेमिटेन्स सेवाका लाखौ सेवाग्राहीहरुका लागि बहुउपयोगि माध्यम सावित हुने आईएमईका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो ।
आईएमई रेमिट कार्ड लिनका लागि सेवाग्राहीले आईएमई सेन्टर तथा भुक्तानी काउन्टरमा रहेको केवाईसी फाराम भरेर प्रक्रिया पुर्याएपछि निश्चित समय पछि रेमिटेन्स कार्ड सुचारु गरिनेछ। शुरुमा केहि निश्चित आईएमई सेन्टरहरुबाट आईएमई रेमिट कार्ड प्राप्त गर्न सकिन्छ।
निकट भविश्यमानै उक्त कार्ड सेवालाई सम्पूर्ण १०० भन्दा बढी आईएमई सेन्टरहरुमा पुर्याउने लक्ष्य बैंकले लिएको छ।














प्रतिक्रिया