काठमाडौं, १३ फागुन । भारतले आसन्न स्थानीय तहको चुनाव तयारीबारे निर्वाचन आयोगसँग चासो राखेको छ ।
नेपालका लागि भारतीय राजदूत रञ्जित रेले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवसँग बिहीबार भेट गरी स्थानीय तहको चुनाव सम्पन्न गर्न आयोगको तयारीबारे जिज्ञासा राखेका हुन् ।
आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार भारतीय राजदूत रेले ‘यति छोटो समय बाँकी छ । आयोगको तयारी के छ ? यहाँहरूले स्थानीय चुनाव सम्पन्न गर्न सक्नुहुन्छ त ? ’ भनी प्रमुख आयुक्त यादवलाई सोधेका थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
प्रमुख आयुक्त यादवले सरकारले वैशाख ३१ मा स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको र चुनाव सम्पन्न गर्न तयारी द्रुत गतिमा भइरहेको जानकारी गराएका थिए ।
भारतीय राजदूतले स्थानीय तहको चुनावमा सहयोग गर्न भारत तयार रहेको बताएका थिए । उनले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारतको सहयोग रहँदै आएको स्मरण गराएका थिए ।
‘हामीले चुनावमा भारतबाट प्राविधिक सहयोग लिनुपर्छ । मतदानमा प्रयोग हुने मतपेटिका, नउड्ने मसीलगायत भारतबाटै ल्याउने हो’, सचिव मैनालीले भने, ‘यस खालको प्राविधिक सहयोगका लागि भारतीय दूतावासले सहजीकरण गर्नुपर्ने हुन्छ । हामीले यिनै विषयमा भारतीय राजदूतसँग छलफल गर्याैं ।’
भारतले स्थानीय तहको चुनाव हुनुअघि मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन गर्न नेपालका प्रमुख राजनीतिक दललाई दबाब दिइरहेको सम्बद्ध स्रोतले बतायो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे कुनै ‘प्रेस्क्रिप्सन’ नरहेको बताए पनि सबै पक्षको भावना समेटेर राजनीतिक प्रक्रिया अघि बढ्ने भन्दै मधेसी दलको भावना समेटियोस् भन्ने आशयको वक्तव्य अघिल्लो साता दिएका थिए ।












प्रतिक्रिया