काठमाडौं, १३ फागुन । आगामी फागुन १८ गते हुने स्ववियु निर्वाचनका कारण अहिले काठमाडौंका क्याम्पसमा ठूलै मेला लागेजस्तो देखिन्छ ।
विद्यार्थी नेताहरूबीच चोकचोकका चियापसलमा बहस हुने गर्छ भने चर्को प्रचारप्रसारमा लागेको देखिन्छ । कतिपय क्याम्पसमा झडपको अवस्था पनि सिर्जना भएको छ । विद्यार्थी संगठन चुनावी जोडघटाउमा लागेका छन् । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।
आठ वर्षपछि हुन लागेकाले पनि यस चुनावलाई सबै राजनीतिक दलले महत्वका साथ हेरेका छन् । उमेरहदको व्यवस्था भएकाले पुराना नेताहरू मैदानबाहिर रहँदा निर्वाचन परिणाम कस्तो आउला भन्ने अन्योल कायमै छ ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर
नेपालकै ठूलो क्याम्पसमा गनिने त्रिवि क्याम्पसमा यसअघि अखिल क्रान्तिकारीका हिमाल शर्मा विजयी भएका थिए । त्यसअघि उक्त क्याम्पसमा कहिले नेविसंघ त कहिले अनेरास्ववियुले जित्दै आएका थिए । त्यहाँ अहिले सबै संगठनको नया अनुहार वा वास्तविक विद्यार्थीबीचको प्रतिस्पर्धा हुने विद्यार्थी नेताहरू बताउँछन् । अनेरास्ववियुले बद्री खतिवडा, मंगल थापा, सुष्मा पराजुली नारायण चापागाईं, हरिकृष्ण भट्टराईमध्ये एकजनालाई उम्मेदवार बनाउने बताउँछ । उक्त क्याम्पसमा अखिल छैटौँ, नयाँ शक्ति, मधेसवादीलगायतका संगठनहरू पनि सक्रिय छन् । त्रिवि केन्द्रीय क्याम्पसमा नया“ शक्तिको पनि बलियो संगठन छ ।
त्रिचन्द्र क्याम्पस, घन्टाघर
त्रिचन्द्र क्याम्पस नेविसंघको गढ हो । यसअघि निरन्तर नेविसंघले जित्दै आएको छ । तर, यसपटक भने नेविसंघभित्र चर्को आन्तरिक द्वन्द्व रहेकाले परिणाम आफ्नो पोल्टामा पार्न उसलाई निकै कसरत गर्नुपर्ने देखिन्छ । यसपटक अनेरास्ववियु र क्रान्तिकारीले सहकार्य गरेर नेविसंघको किल्ला तोड्ने योजना बनाएका छन् । जति नै आन्तरिक द्वन्द्व भए पनि आफूहरू धेरै नै अगाडि रहेको नेविसंघ बताउँछ । तर, चरम विवादले यसपटक नेविसंघका नेताहरूमा पनि चिसो पसेको देखिन्छ ।
रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस, प्रदर्शनीमार्ग
राजधानीको अर्को ठूलो आरआर क्याम्पस अनेरास्ववियुको किल्ला हो । उक्त क्याम्पसमा अहिलेसम्म अनेरास्ववियुलाई कसैले पनि हल्लाउन सकेको छैन । अहिले पनि अनेरास्ववियुले नै जित्ने सम्भावना छ । नेविसंघ र क्रान्तिकारी अस्तित्वरक्षाका लागि मात्र चुनावमा सहभागी हुने उनीहरू नै स्विकार्छन् । त्यसैले यस क्याम्पसमा अनेरास्ववियुबाहेकका संगठनले त्यति धेरै कसरत पनि नगरेको देखिन्छ ।
शंकरदेव क्याम्पस, पुतलीसडक
शंकरदेव क्याम्पस भने नेविसंघको गढ हो । उक्त क्याम्पसमा अहिलेसम्म नेविसंघलाई कसैले उल्टाउन सकेका छैनन् । अनेरास्ववियुले पनि राम्रै एक्सरसाइज गरेको देखिन्छ भने क्रान्तिकारीले पनि आफ्नो गतिविधिलाई बढाएको छ । नेविसंघले शंकरदेवमा अनेरास्ववियु दोस्रो हुने आँकलन गरेको छ ।
नेपाल कमर्स क्याम्पस, मीनभवन
यसअघि अनेरास्ववियुको बागी प्यानलले विजय हासिल गरेको क्याम्पस हो नेपाल कमर्स क्याम्पस । त्यतिवेला बागी पवन मैनालीको प्यानलले विजय हासिल गरेको थियो भने अनेरास्ववियु नै दोस्रो भएको थियो । उक्त क्याम्पसमा ०५५ मा नेविसंघका तिलक थापा विजय भएपछि हालसम्म निरन्तर अनेरास्ववियुले जित्दै आइरहेको छ । त्यसैले यसपालि पनि अनेरास्ववियुले जित्ने आँकलन गरिएको छ । यसपालि नेविसंघले पहिलाभन्दा केही सुधार गरेको बताउँछ । तर, जित्नेमा भने नेविसंघ र क्रान्तिकारी दुवै ढुक्क छैनन् ।
अमृत साइन्स (अस्कल) क्याम्पस, लैनचौर
राजधानीको अर्को ठूलो क्याम्पस अस्कल पनि अनेरास्ववियुको गढ मानिन्छ । अस्कलमा क्रान्तिकारीको पनि राम्रो पकड रहेको देखिन्छ । तर, यहाँ नेविसंघ भने अलि पछि रहेको नेविसंघका नेताहरू नै स्विकार्छन् । बहुमत जितेको हुनाले क्रान्तिकारीले एक्सरसाइज गरेको देखिन्छ ।
पब्लिक युथ क्याम्पस, धोबीचौर
यसपालि पब्लिक युथ क्याम्पसको भिडन्त रोचक हुने देखिन्छ । पब्लिक युथ नेविसंघको गढ मानिन्छ । तर, त्यहाँ पनि नेविसंघको नेतृत्वमा देखिएको विवादले अरू संगठनलाई आत्मबल प्रदान गरेको छ । यहाँ अनेरास्ववियुले पनि आक्कलझुक्कल जित्ने गरेको छ । अनेरास्ववियुले आफूलाई बलियो साबित गर्न गृहकार्य थालेको छ भने नेविसंघ आफू निकै अगाडि रहेको बताउँछ । नया“ शक्ति पनि पब्लिक युथमा बलियो छ भने अखिल क्रान्तिकारीले पनि आफ्नो गतिविधिलाई बढाएको देखिन्छ ।
नेपाल ल क्याम्पस, प्रदर्शनी मार्ग
नेपाल ल क्याम्पसमा अनेरास्ववियुले जित्दै आएको छ भने नेविसंघको पनि राम्रै उपस्थिति देखिन्छ । यहाँ अनेरास्ववियुको बलियो प्रतिस्पर्धी भनेको नेविसंघ हो । नेविसंघले तयार पारेका उम्मेदवार अधिकांशको उमेर कटिसकेकाले उसलाई ठूलो झट्का लागेको छ । तेस्रो शक्तिको रूपमा क्रान्तिकारी रहेको आँकलन गरिन्छ । तर, विप्लव माओवादीनिकट विद्यार्थी संगठनले पनि आफ्नो गतिविधि बढाएको छ ।
पाटन संयुक्त क्याम्पस, पाटन
राजधानीको अर्को ठूलो पाटन संयुक्त क्याम्पसमा पनि अनेरास्ववियुको राम्रो प्रभाव रहेको देखिन्छ । यहाँ ०५५ सालमा नेविसंघले विजय हासिल गरेको थियो । जुन उसको एक मात्र जित थियो । अनेरास्ववियुको गढ मानिने यस क्याम्पसमा अरू संगठनले मोर्चाबन्दी गरेर निर्वाचनमा जाने सम्भावना पनि रहेको छ ।
पशुपति बहुमुखी क्याम्पस, चाबहिल
पशुपति क्याम्पस नेविसंघको गढ मानिन्छ । तर, यस क्याम्पसमा उमेर हदबन्दीका कारण नेविसंघ र अनेरास्ववियुलाई उम्मेदवार चुन्नै हम्मेहम्मे परेको थियो । तर, क्रान्तिकारी भने यस क्याम्पसमा अखिल तेस्रो शक्ति भएको बताउँछ ।
पद्मकन्या क्याम्पस, बागबजार
पद्मकन्या क्याम्पसलाई नेविसंघको प्रभुत्व रहेको क्याम्पसको रूपमा आँकलन गरिन्छ । किनकि यहाँ निरन्तर रूपमा नेविसंघले बाजी मार्दै आइरहेको छ । अनेरास्ववियु र क्रान्तिकारी भने कमजोर देखिन्छन् । यसपालि उनीहरूबीच सहकार्य हुने देखिएको छ । अखिल संयुक्त भनेर त्यहाँ गृहकार्यसमेत थालिएको छ । यस क्याम्पसमा नेविसंघको गढ भत्काउन अन्य संगठनले कसरत गरेको देखिन्छ ।
बानेश्वर क्याम्पस, बानेश्वर
क्रान्तिकारी बानेश्वर क्याम्पसमा आफ्नो प्रभुत्व रहेको बताउँछ । तर, अनेरास्ववियु भने आफूहरूले प्यानल नै जित्ने उल्लेख गर्छ । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष नवीना लामाले स्ववियु सभापति जितेको क्याम्पस भएकाले पनि आफूहरू त्यहाँ शक्तिशाली भएको अनेरास्ववियुको दाबी छ । त्यस्तै, क्रान्तिकारीले थोरै क्याम्पसमध्येको बानेश्वर क्याम्पसमा ठूलै मिहिनेत गरेको देखिन्छ । उक्त क्याम्पसमा नेविसंघ भने निकै कमजोर रहेको छ ।












प्रतिक्रिया