१३ कार्तिक २०८३, शुक्रबार

विखण्डनवादीलाई निस्तेज पार्छौं : सेना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । विखण्डनवादीले सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुतामा चुनौती दिएको नेपाली सेनाको निष्कर्ष छ ।

सेना दिवसको अवसरमा बिहीबार जंगी अड्डामा सैनिक अधिकृत तथा जवनाहरूलाई विशेष निर्देशन दिँदै प्रधानसेनापति राजेन्द्र क्षत्रीले साम्प्रदायिकता भड्किने अभिव्यक्ति र हतियार उठाउने धम्की दिनेहरूलाई निस्तेज पार्न सेना तयार रहेको समेत स्पष्ट पारे । राजधानी दैनिकले समाचार छापेको छ ।

‘हाल केही विखण्डनवादी शक्तिहरूले साम्प्रदायिकता भड्किने अभिव्यक्तिहरू दिनुका साथै केही समूहहरूले हतियार उठाउने धम्की दिइरहेका कारण नेपाली समाजमा युगौंदेखि चल्दै आएको सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुतालाई चुनौती दिएको छ,’ सेनापति क्षत्रीले भने, ‘पूर्खाको रगत पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छनीय गतिविधिहरूलाई निस्तेज गर्न नेपाली सेना हरहमेसा तयारी हालतमा छ ।’

अहिले तराई मधेसमा विखण्डनको नारा अघि सारेर साम्प्रदायिक सद्भाव भड्काउन उद्दत विभिन्न स्वार्थ समूहको गतिविधिप्रति सेनाको गम्भीर ध्यानाकृष्ट भएको हो ।

सम्बोधनकै क्रममा सेनापति क्षत्रीले अखण्ड सुनौलो इतिहासलाई जीवित राख्न, राष्ट्रिय हितविरुद्ध उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीहरूको सामना गर्न, मानवअधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनले निर्दिष्ट गरेका नियम र कानुनको परिधिभित्र रही संविधान र सरकारद्वारा दिइने सबै जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उनले दीर्घकालीन लक्ष्यअनुरूप उपलब्ध स्रोत साधनहरूको अधिकतम् प्रयोग गरी सेनालाई सबल र सक्षम संगठन तयार गर्ने, नागरिक–सैनिक सम्बन्धलाई सुदृढ गर्ने, उच्च मनोबलयुक्त फौज तयार गर्ने, वृत्तिविकास प्रणालीलाई व्यावहारिक बनाउने कार्यलाई निरन्तरता दिइरहेको पनि बताए ।

सेनापति क्षत्रीले सैनिक कूटनीतिका माध्यमबाट मित्रराष्ट्रका सैनिक संगठनहरूसँग आपसी हितमा दुई पक्षीय पेसागत सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजान संयुक्त तालिम तथा अभ्यासहरू सञ्चालन भइरहेको उल्लेख गरे । सोही क्रममा पहिलोपटक श्रीलंकासँग संयुक्त अभ्यास सम्पन्न हुनुका साथै चीन र बंगलादेशसँग पनि संयुक्त अभ्यास गर्ने योजना रहेको बताए ।

सेनापति क्षत्रीले जंगी अड्डास्थित सभामण्डप हलमा नेपाली सेनाका अधिकृत तथा जवानहरूलाई सम्बोधन गर्दै नेपाली सेना सारा नेपालीहरूको साझा राष्ट्रिय सेना भएको उल्लेख गरे ।

राज्य संकटमा पर्दा होस् वा विपद्मा सेनाले गरेको निःस्वार्थ सेवाले नेपाली जनताको सेनाप्रतिको अगाध विश्वास, आस्था र भरोसा जितेको र यो नै नेपाली सेनाको हौसला र ऊर्जाका स्रोतहरू भएको उनको भनाइ थियो । सम्बोधनका क्रममा सेनापति क्षत्रीले समयानुसारको परिवर्तनलाई नेपाली सेनाले सदैव आत्मसाथ गर्दै आएको समेत उल्लेख गरेका थिए ।