१३ कार्तिक २०८३, शुक्रबार

किन भयो डीआईजीको सरुवाप्रति दुबै प्रहरी संगठनमा असन्तुष्टि ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । सरकारले निर्वाचन मिति घोषणा गरेलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरूको सरुवा गरेको छ ।

गृह मन्त्रालयले नेपाल प्रहरीका २० र सशस्त्र प्रहरीका १० जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को एकै दिन सरुवा गरेको हो । यसैगरी, हालै बढुवा भएका सशस्त्र प्रहरीका तीनजना डीआईजीलाई पनि पदस्थापन गरिएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

यद्यपि, डीआईजी सरुवा विवादरहित बन्न सकेन । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनका केही अधिकृतलाई ठाउँ नदिइएको गुनासो रहेको छ । केही अधिकारीलाई दोहो-याइएको र आफूहरूलाई ठाउँ नदिइएको उनीहरूको गुनासो रहेको छ ।

नेपाल प्रहरीका डीआईजी सरुवाअन्तर्गत ट्राफिक प्रहरी महाशाखामा रहेका प्रकाश अर्याललाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । उनी यसअघि मध्यक्षेत्रको कमान्ड सम्हालेर ट्राफिक महाशाखामा आएका थिए ।
यसैगरी, बमबहादुर भण्डारीलाई विशेष ब्युरोबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा लगिएको छ । त्यहाँ एआईजी प्रमुख हुने भएकाले पछिल्ला दिनलाई मध्यनजर राख्दै उनलाई त्यहाँ सरुवा गरिएको हो । अर्याल र भण्डारी दुवैजना आईजीका दाबेदारसमेत थिए ।

यसैगरी, पश्चिम क्षेत्र पोखरामा रहेका कमलसिंह बमलाई अख्तियारमा सरुवा गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पंकज श्रेष्ठलाई लगिएको छ । उनी ट्राफिक प्रहरी निर्देशनालयमा कार्यरत थिए ।

अख्तियारबाट कार्यविभागमै काजमा रहेका पशुपति उपाध्यायलाई कार्यविभागमै सरुवा गरिएको छ । कार्यविभागका देवेन्द्र सुवेदीलाई एकेडेमी महाराजगन्जमा सरुवा गरिएको छ । चार महिनाअघि सुवेदीलाई अख्तियार पठाइएको थियो । यसअघि विमानस्थलमा लामो समय बसेका विजयलाल कायस्थलाई क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत सरुवा गरिएको छ । एक वर्षअघि आयुक्त कार्यालय रानीपोखरीमा रहेका मधुसूदन पुडासैनीलाई क्षेत्रीय प्रहरी कार्यालय पोखरा, माधवप्रसाद जोशीलाई प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखा, केशरीराज घिमिरेलाई मानवस्रोत विकास विभाग, आयुक्त कार्यालयका मिङ्मार लामालाई महानगरीय ट्राफिक महाशाखामा सरुवा गरेको छ ।

माधवप्रसाद नेपाललाई ट्राफिक निर्देशनालय, हेमन्त पाललाई प्रधान कार्यालय विशेष ब्युरो सरुवा गरिएको छ । पाललाई यसपटक पनि क्षेत्र कमान्ड गर्ने अवसरबाट वञ्चित गरिएको छ । उनलाई बढुवामा पनि पछि पारिएको र क्षेत्र कमान्ड गर्ने अवसरबाट वञ्चित गरिएको थियो ।

यसैगरी, रोमेन्द्रसिंह देउजालाई सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, गणेश केसीलाई क्षेत्रीय प्रहरी कार्यालय हेटौंडा, रमेशकुमार भट्टराईलाई क्षेत्रीय प्रहरी कार्यालय विराटनगर र केदारमानसिंह भण्डारीलाई अपराध अनुसन्धान विद्यालय सरुवा गरिएको छ ।

उता, गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १० जना नायब महानिरीक्षक (डीआईजी) को पनि सरुवा गरेको छ भने तीनजनालाई पदस्थापन गरेको छ । गृह मन्त्रालयले बुधबार सशस्त्र प्रहरीका डीआईजीहरूको सरुवा र पदस्थापन गरेको हो । डीआईजी नरेन्द्रकुमार सिंहलाई मुक्तिनाथ बाहिनी पोखराबाट सीधै मध्य क्षेत्रको रुद्र बाहिनी सरुवा गरिएको छ । उनी मात्र होइन, जनकीराम भट्टराईलाई पूर्व क्षेत्र पकली, सुबोधराज अधिकारीलाई पश्चिम क्षेत्र बाहिनी पोखरा सरुवा गरेर एकपटक बाहिनीपति भइसकेकालाई पुनः बाहिनीपतिकै रूपमा सरुवा गरिएको छ ।

यसैगरी, दिवाकर केसीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय, निराकरमविक्रम शाहलाई महानगरीय सशस्त्र प्रहरी कार्यालय, खडानन्द चौधरीलाई पद्धति तथा सेवा निर्देशनालय, सुरजकुमार श्रेष्ठलाई कार्यविभाग, राजेश श्रेष्ठलाई अन्वेषण तथा विकास निर्देशनालय, बाबुराम पाण्डेलाई व्यावसायिकता तथा गुणस्तर निर्धारण निर्देशनालय र निलम्बित डीआईजी अरविन्द धिताललाई कार्य विभाग सरुवा गरिएको छ ।

हालै बढुवा भएका डीआईजी खड्गबहादुर राईलाई सुदूरपश्चिम बाहिनी अत्तरिया, वसन्तकुमार बानियाँलाई मध्यपश्चिम बाहिनी सुर्खेत र मन्दीप श्रेष्ठलाई प्रशिक्षण प्रतिष्ठान पदस्थापन गरिएको छ । राई र बानियाँ पनि एसएसपी हुँदै कामु बाहिनीपति भएर कमान्ड सम्हालिसकेका छन् ।

डीआईजी रवि थापालाई भने सुरक्षा परिषद्बाट कतै पनि सरुवा गरिएको छैन । सशस्त्र उनी मात्रै अन्यायमा परेका हुन् ।