काठमाडौं, ११ फागुन । एकाबिहानै कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा म्यानपावरवालीको लफडा चल्यो । सोमबार दिउँसोको दोस्रो क्याबिनेट बैठकले चौध देशका लागि राजदूत सिफारिस गर्ने क्रममा पार्टी कोटामा परेकी म्यानपावर व्यवसायी आशा लामाको विषयलाई लिएर कांग्रेससम्बद्ध लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष प्रज्ञान न्यौपानेहरु हिजो बिहान देउवासँग पड्किएका हुन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
पेशागत आधिकारिक संघका बहालवाला अध्यक्ष विमल ढकाल पनि सँगै थिए । प्रज्ञानको भनाई थियो, ‘यो पार्टीको मान्छे नै होइन । कसरी कोटाबाट नियुक्ति भयो ? यदि यस्तै हो भने हामी पार्टी छाड्छौं ।’
देउवाले जवाफ दिए, ‘बढी बोल्छौ ? छाड्ने भए छाड न त ! तिमीले छोडे अरु आउँछन् । मास बेस्ड पार्टीमा मान्छेहरु आउने जाने भइरहन्छ ।’
त्यहाँ पुग्ने व्यवसायीमा तिलक रानाभाट, विष्णु गैरे, ज्ञानु गैरे, कुमुद खनाल, थिरमणि पौडेल, ऋषि शर्मा, नरेन्द्र ढकाल र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डकी सदस्य सीता देवकोटा थिए ।
उनीहरुको दाबी थियो, ती महिला एमाले हुन् । वैदेशिक रोजगार व्यवसायी संघमा एमालेका बलबहादुर तामाङले कांग्रेसका हंसराज वाग्लेलाई एक भोटले जितेको बेला उनी एमाले प्यानलमा परेर सर्वाधिक मतले जितेकी केन्द्रीय सदस्य हुन् ।
त्यसबेला निर्वाचनका क्रममा कांग्रेसतर्फबाट खडा महासचिवका उममेदवार कमल तामाङसँग उनको निर्वाचनस्थलमै घम्साघम्सी परेको थियो । तर, आशाको नियुक्तिको भित्री कारण हो, उनी आरजु देउवाको सहयोगी हुन् ।
सम्बन्धित क्षेत्रका कार्यकर्ताले आपत्ति जनाइसकेपछि देउवाले तत्कालै परराष्ट्रमन्त्री प्रकाशशरण महत र आरजुको मन राख्न जनजाति कोटाबाट आशाको नाम सिफारिस गर्ने दोलखाका कांग्रेस नेता जिपछिरिङ लामालाई बोलाउन अह्राए । बोलाइए अनुसार प्रकाशशरण पुगे, तर जिपछिरिङ देखा परेनन् ।
आशामाथि अवैध रुपमा असंख्य नेपाली युवतीलाई कुवेत, ओमानजस्ता प्रतिवन्धित मुलुक पठाएर मनग्य कमाएको आरोप छ । उनी दार्जिलिङमा जन्मिएकी, हुर्किएकी र नेपालीसँग विवाह गरेर अंगीकृत नागरिकता पाएकी महिला हुन् ।












प्रतिक्रिया