काठमाडौं, ११ फागुन । सरकारले आगामी ३१ वैशाखका लागि घोषणा गरेको स्थानीय तह निर्वाचनको स्वागत गरेका संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलले निर्वाचनमा संयुक्त मधेसी मोर्चासहित जानुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बोलाएको सर्वदलीय बैठकमा विभिन्न दलका नेताले निर्वाचन घोषणाको स्वागत गर्दै मोर्चालाई पनि सहमतिमा ल्याउनुपर्नेमा जोड दिए । राजधानी दैनिकले समाचार छापेको छ ।
बैठकमा बोल्ने क्रममा नेताहरूले मधेसी मोर्चालाई पनि निर्वाचनमा समेटेर लैजानुपर्ने र त्यसका लागि मध्यमार्गी बाटो खोज्नुपर्नेमा समेत जोड दिएका थिए । मोर्चाले परिमार्जनसहित संविधान कार्यान्वयन हुनुपर्ने माग गर्दै आएकामा दलहरूले उसलाई पनि सहमतिमा ल्याएर निर्वाचनमा जाने कसरत जारी राखेका छन् । मोर्चाको माग सम्बोधनकै लागि संघीय आयोगको विषय र तराईमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बढाउने विषय सरकारले अघि बढाइरहेको छ ।
बैठकमा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलहरूलाई संविधान संशोधनमा सहयोग गर्न आग्रह गरेका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन पारित गर्ने विषयमा सहयोग नगरे पनि मतदान प्रक्रिया अगाडि बढाउने विषयमा भने लचिलो बन्ने संकेत गरेको छ । ‘निर्वाचन घोषणा भएको छ, यो राम्रो कुरो हो,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले चुनाव गराउने सर्तमा एमालेको सहयोग रहनेतर्फ संकेत गर्दै भने, ‘अब यसलाई टार्ने र सार्ने काम नहुँदासम्म एमालेको बलियो साथ रहन्छ ।’
सर्वदलीय छलफलमा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमतिका लागि छलफल जारी रहेकाले एमाले पनि निर्वाचन हुने बेलासम्म मतदानकै पक्षमा हुने बताए । ‘सबैसँग सकारात्मक कुरा भएको छ, संशोधन प्रस्तावमा पनि धेरै पार्टीको सहमति छ,’ सभापति देउवाले भने, ‘मलाई विश्वास छ, मतदान हुने बेलासम्म एमालेले पनि संशोधनकै पक्षमा भोट हाल्नेछ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मोर्चालाई पनि साथमै लिएर निर्वाचनमा जानुपर्ने बताए । संविधान संशोधनका विषयमा मधेस केन्द्रित राजनीतिक दललाई चित्त बुझाएर विधेयकलाई अघि बढाउनुपर्ने उनको भनाइ छ । ‘संशोधनका विषयमा सबैसँग सहमति जुटाएर विधेयक अगाडि बढाउनु अहिलेको आवश्यकता हो । प्रतिवेदन यथासक्य चाँडो कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो,’ थापाले भने ।
मधेसी मोर्चाले सर्वदलीय बैठक बहिष्कार गरे पनि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार भने बैठकमा सहभागी बनेका थिए । परिमार्जनसहित संविधान संशोधन गरेर अघि बढ्नुपर्ने भन्दै उनले आफ्नो पार्टी निर्वाचनबारे सकारात्मक रहेको बताए । ‘परिमार्जनसहित संविधान संशोधन गरेर अघि बढ्नुपर्छ, सबैलाई समेटेर नै निर्वाचन गर्नुपर्छ भन्ने हाम्रो पार्टीको धारणा हो,’ उनले भने ।सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधनसहित निर्वाचन र स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनबारे सुझाव मागेका थिए ।
बैठकपछि प्रधानमन्त्री दाहालले संशोधन विधेयक अघि बढेपछि मोर्चा पनि निर्वाचन प्रक्रियामा आउने बताए । ‘आजको बैठकबाट निर्वाचनमा आम सहमति भयो, अब भोलिदेखि संशोधन विधेयकको प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘संशोधन विधेयक अघि बढेपछि मोर्चा पनि आउने र निर्वाचनको प्रक्रिया उत्साहपूर्ण ढंगले अघि बढ्ने मेरो विश्वास छ ।’ कांग्रेस सभापति देउवाले मधेसी मोर्चासँग पुनः छलफल हुने र संशोधन प्रक्रिया अघि बढेसँगै मोर्चा पनि सहमतिमा आउने बताए । ‘संविधान संशोधन विधेयक अघि बढेपछि मधेसी मोर्चा पनि चुनावमा आउँनेछ,’ देउवाले भने ।












प्रतिक्रिया