
काठमाडौं, ४ असोज । गुरुङ जातिको उदगमस्थल क्खोलासोंथरबारे पहिलोपटक फोटो प्रदर्शनी हुने भएको छ ।
लमजुङ र कास्की जिल्लाको सिमानामा रहेको ख्होलासोँथरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रबद्र्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी गर्न लागिएको हो । काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा असोज ८ र ९ गते हुने प्रदर्शनीमा क्होंलासोंथर पुगेर पत्रकार गणेश पाण्डेले खिचेका फोटो प्रदर्शनीमा राखिनेछन् । प्रदर्शनीको विशेष समारोहबीच आगामी बुधबार उद्घाटन गरिने कार्यक्रम छ ।
प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजक घनपोखरा तमु सेवा समाज, काठमाडौंले जनाएको छ । प्रदर्शनीमा ख्होलासोँथरसहित लमजुङको पर्यटकीयस्थल घनपोखरा, घलेगाउँ, भुजुङ, सिउरुङसहित गुरुङ जातिको कला र संस्कृति झल्कने विभिन्न फोटोहरु राखिने आयोजक समितिका अध्यक्ष रिखीप्रसाद गुरुङले बताउनुभयो । उहाँका अनुसार, पुरातात्विक एवं ऐतिहासिक महत्व भएको ख्होलासोँथरमा गुरुङ जातिबारे अध्ययन तथा अनुसन्धान गर्न र प्राकृतिक मनोरम दृश्यावलोकन गर्ने नयाँ गन्तव्यको रुपमा विकास, संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्न घनपोखरा समाजले विस्तृत योजना बनाएको छ ।
तमु (गुरुङ) जातिको ऐतिहासिक उद्गमस्थल “ख्होलासोंथर” तत्कालिन घले राजाहरुको राजधानी हो । ‘आजभन्दा करिब ११ सय बर्ष पहिले ख्होलासोँथरमा घले (तमु) राजाहरुले राज्य संचालन गरेको र सोही ठाउँबाटै गुरुङ सभ्यताको प्रारम्भ भएको मानिन्छ,’ जिल्ला विकास समिति लमजुङका पूर्वसभापति हेमजङ गुरुङ भन्नुहुन्छ, ‘ख्होलासोँथरबाटै गुरुङहरु लमजुङको घनपोखरा, भुजुङ, घलेगाउँ, सिउरुङ तथा कास्कीको सिक्लेस तथा ताङतिङ हुँदै देशका विभिन्न गाउँ बस्तीहरुमा बसाईंसराईं गरेको भन्ने मान्यता छ ।’ उहाँका अनुसार, ख्होलासोँथरको ऐतिहासिक एवं पुरातात्विक महत्वबारे अध्ययन, अनुसन्धान गर्न पुरातव्य विभाग र बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयले सन् २००० मा ख्होलासोँथर क्षेत्रमा उत्खनन कार्य गरेको थियो ।
सडक यातायातको विकाससँगै लमजुङ जिल्लाबाट सुरु भएर मनाङ–मुस्ताङ हुँदै पोखरासम्मको २९ दिने प्रख्यात अन्नपूर्ण पदयात्रा मार्ग विस्थापित हुने अवस्थामा रहेकाले वैकल्पिक पदमार्ग एवं नयाँ पर्यटकीय गन्तव्यका रुपमा ख्होलासोँथरलाई विकास गर्न सकिने आयोजकको विश्वास छ ।
लमजुङ सदरमुकाम बेसीशहरबाट घलेगाउँ, घनपोखरा, हुँदै ख्होलासोँथर पुग्ने र त्यहाँबाट पश्चिमतर्फ कास्कीको ताङतिङ (नामार्जुङ), सिक्लेसबाट पोखरा जाने तथा उत्तरतर्फ ठूलो लेक, दुधपोखरी, नामुनभन्ज्याङ, पारगरी, मनाङको तिमाङ जाने नयाँ पर्यटकीय पदमार्गको निर्माणका लागि जिविस लमजुङ र मनाङ, नेपाल पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) तथा टानले संयुक्त रुपमा पहल गरिरहेको छ ।















प्रतिक्रिया