काठमाडौं, ९ फागुन । संविधान संशोधन नभई चुनाव मिति घोषणा नगर्न दबाब दिँदै आएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष्य उपेन्द्र यादव आइतबार अचानक नयाँदिल्ली गएका छन्। उनी अपराह्न ३:४० को नियमित उडाननबाट दिल्ली गएका हुन्। यादव दिल्ली गएपछि तमलोपा पार्टी कार्यालयमा बसेको मधेसी मोर्चाको बैठकमा फोरम नेपालबाट सहअध्यक्ष राजेन्द्र श्रेष्ठ उपस्थित भएका थिए।
यादव ११ गते काठमाडौं फर्कने छन्। दिल्लीमा उनले भारतीय नेताहरूसँग पनि भेट्ने कार्यक्रम रहेको सहयोगी महेश चौरासियाले बताए।चौरासियाले यादवको दिल्ली भ्रमण अकस्मात नभएको दाबी गरे। एम्स अस्पतालमा उपचार गराइरहेकी बुहारीको स्वास्थ्य स्थिति बुझ्न यादव दिल्ली गएको उनले जनाए। ‘दिल्ली भ्रमणमा भारतीय नेताहरूसँग भेट्ने कार्यक्रम पनि छ तर त्यहाँ जानुको मुख्य कारण भने उपचार गराइरहेकी बुहारीको स्वास्थय स्थिति बुझ्नु हो’, चौरासियाले भने।
प्रधानमन्त्रीसँग शनिबार भएको छलफलमा यादवले मोर्चाका अन्य नेताले भन्दा फरक ढंगले कुरा राख्दै सरकारले चुनाव मिति घोषणा गरे प्रधानमन्त्रीलाई फाइदा नहुने तर्क गरेका थिए। उनले प्रधानमन्त्रीलाई मिति घोषणा गरेर गल्ती नगर्न पनि सुझाएका थिए।
यादव निकट अर्को स्रोतका अनुसार उनी आइतबार दिल्ली जाने कार्यक्रम बिहानमात्र तय भएको थियो। बिहानसम्म उनले अपराह्न बस्ने मोर्चाको बैठकमा उपस्थिति हुने जानकारी गराएका थिए।
नागरिक दैनिकमा समाचार छ ।












प्रतिक्रिया