१३ कार्तिक २०८३, शुक्रबार

पृथकतावादीद्वारा विद्यार्थी प्रयोग गरी प्रहरीचाैकी आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ९ फागुन । पृथकतावादी मधेस अभियानमा सक्रिय सीके राउतका कार्यकर्ताले स्कुले विद्यार्थी प्रयोग गरी रुपन्देहीको मर्चवार क्षेत्रको प्रहरीचौकीमा आक्रमण गरेका छन् । रुपन्देहीको सिलौटिया गाविस–८ स्थित वडवलिया चौकीमा विद्यार्थीकै सहभागितामा आइतबार आक्रमण भएको हो ।

राउतका कार्यकर्ताले प्रहरीबाट दुईवटा हतियारसमेत खोसेका थिए । खोसिएका हतियारमध्ये एसएलआर घटनास्थलनजिकैको घरबाट परालले ढाकेको अवस्थामा भेटिएको लुम्बिनी अञ्चल प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए । ग्यास गन र केही ग्यास भने भेटिएको छैन । ‘थोरै जनशक्ति भएकाले प्रहरी व्याक हुँदै गर्दा हतियार खोसिएको थियो’, उनले भने । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

प्रहरीमाथि आक्रमण भएपछि अवस्थालाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड अ श्रुग्यास प्रहार गरिएको प्रमुख थापाले बताए । आक्रमणबाट ५ जना सुरक्षाकर्मी घाइते भएको र ५ आक्रमणकारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले जानकारी दिए ।चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रेमकुमार श्रेष्ठका अनुसार १ सय ५० जनाको संख्यामा आएको समूहले चौकी घेरा हालेर ढुंगा हानेका थिए । ‘हामी पाँच जना मात्रै थियौं, एक्कासी आएका उनीहरू सिधै कम्पाउन्डभित्र पसे । हामी कोठामा ढोका थुनेर भित्र बस्यौं’, सहायक निरीक्षक श्रेष्ठले घटनाबारे सुनाए, ‘पाँच राउन्ड हवाईफायर गर्दा पनि भागेनन् ।’

प्रहरी निरीक्षकको टोली आएपछि आक्रमणकारी भागेको उनले बताए । शनिबार मझगवाको मर्चवार माध्यमिक विद्यालयमा तय गरेको आमसभा गर्न नदिएपछि आक्रमण भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनामा प्रहरी हबल्दार अर्जुन रोकाय, प्रहरी जवान रमेश पाल, रामबहादुर भण्डारी र अमर मल्ल घाइते भएका छन् । घाइते उपचारपछि फर्किएका छन् । एक जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । मर्चवार क्षेत्रमा दिउँसोदेखि थप प्रहरी परिचालन भएपछि अवस्था नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डे नेतृत्वको टोली मर्चवार पुगेको छ ।

मर्चवार क्षेत्रका विद्यालयमा स्वतन्त्र मधेस गठबन्धनले कक्षा लिएरै विद्यार्थी प्रशिक्षण गराउने गरेको खुलेको रुपन्देहीका प्रहरी प्रवक्ता बेलबहादुर पाण्डेले बताए । ‘हामीले पढाइ हुने गरेको विषयमा माथि जानकारी गराएका थियौं’, उनले भने, ‘प्रहरीमाथि आक्रमण गर्नेहरू पनि अधिकांश विद्यार्थी नै छन् ।’

शनिबारको प्रहरी झडपमा केही विद्यार्थी पनि घाइते भएका थिए । त्यसको विरोधमा आइतबार सरकारी तथा निजी विद्यालयसमेत बन्द भए । घटनामा परी विद्यार्थी घाइते भएको मानवअधिकार उपक्षेत्रीय कार्यालय बुटवलका अधिकृत कल्पना नेपालले बताइन् ।

६ जनालाई राज्यविप्लव मुद्दा

राउतका ६ जना कार्यकर्तालाई राज्यविप्लव मुद्दा चलाइएको छ । शनिबार रुपन्देहीको मर्चबारबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार जिल्ला अदालतमा राज्यविरुद्ध संगठित अपराध गरेको अभियोगमा राज्यविप्लव मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको हो ।

प्रहरी निरीक्षक धर्मराज भण्डारीका अनुसार रुपन्देही बोगडी–५ का उदीप यादव, बयरघाट–४ का मक्बुल अन्सारी, लुम्बिनी सांस्कृतिक नगरपालिका–१९ का विकासप्रसाद लोध, रोहिणीहवा–४ का परमेश्वर यादव, कम्हरिया–८ का मुकेश साहनी र कपिलवस्तु मोतीभारीका जितेन्द्र चौधरीविरुद्ध राज्यविप्लव मुद्दा चलाइएको छ ।

मुद्दा चलाइएकाले राउतको अभियानलाई साथ दिँदै राज्यविरुद्ध संगठित अपराध गरेको उनले बताए । शनिबार मर्चबारबाट राउतका २१ जना कार्यकर्ता पक्राउ परेका थिए । १५ जनालाई भने छानबिन गरी छाडिएको छ ।