– कृष्ण ओझा
पाँचथर, ७ फागुन । पाँचथरको नाङ्गिन माविमा नेपालकैै पहिलो अनलाइन शिक्षा कार्यक्रम सूरु भएको छ । समानता फाउण्डेसन संस्था नेपालको सहयोगमा अनलाइन शिक्षा कार्यक्रम लागू गर्ने विद्यालय बनेको हो ।
विद्यालयमा १५ वटा कम्प्युटर र एउटा प्रोजेक्टर जडान गरिएको छ । संस्थाका कार्यक्रम अधिकृत रविन शिवाकोटीले विद्यालयमा दुरसञ्चार कार्यालयबाट वाइ म्याक्स इन्टरनेट जडान गरिने बताए ।
इन्टरनेट जडानपछि पाठ्यक्रम र पाठ्यपुस्तक डाउनलोड गरेर पठनपाठन गर्ने विद्यालयको तयारी छ ।
सामुदायिक विद्यालयको शैक्षिक सुधार र अनुसन्धानात्मक कार्यमा विद्यार्थीहरुलाई उत्प्रेरित गर्न कार्यक्रमले टेवा पुग्ने संस्थाका अमेरिकास्थित सिइओ तथा प्रोफेसर मेदनी अधिकारीले बताए ।
‘सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किँदो छ’ उनले भने, शैक्षिक अवस्था सुधारमा अनलाइन शिक्षाले टेवा पुग्छ ।’ यससँगै उनले विद्यार्थीहरुलाई अनुसन्धानात्मक सिकाईमा कार्यक्रमले बल पुग्ने विश्वास व्यक्त गरे ।
विज्ञान र प्रविधिको युगमा अनलाइन शिक्षा अनिवार्य भएको उनी बताउँछन् । कार्यक्रम अमेरिकामा रहेका नेपालीहरुको करिव ६ लाख रुपैयाँको सहयोगमा लागू भएको हो ।

कार्यक्रम लागू भएपछि विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक खुसी भएका छन् । वरिष्ठ सामाजिक अभियान्ता डा.महावीर पुनले कार्यक्रम लागू गर्नु भन्दा पनि दीगोपना चुनौतीपूर्ण भएको औँल्याए ।
दीगोपनाका लागि जिल्लास्थित सरकारी निकायसँग समन्वय गर्न उनको आग्रह छ । ‘बारम्बार सहयोग गरिरहन सकिँदैन’ उनले थपे, ‘स्थानीय निकायसँग आर्थिक सहयोग माग्नुहोस । कार्यक्रम दीगो बनाउनुहोस ।’ उनले कम्प्युटर शिक्षा जीवनोपयोगी भएकाले सिक्नु अनिवार्य भएको बताएका छन् ।
विद्यालयले शूक्रबार आयोजना गरेको कार्यक्रममा व्यवस्थापिका संसदको उद्योग,वाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिका सभापति तथा सांसद भीष्मराज आङदेम्बेले अमेरिकामा रहेका नेपालीहरुको सहयोगमा समानता फाउण्डेसन संस्था नेपालले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि लागू गरेको अनलाइन शिक्षा कार्यक्रम शैक्षिक उन्नयनमा दुरगामी असर पुग्ने विश्वास व्यक्त गरे ।
उनले संसद विकास कोषबाट अनलाइन शिक्षा कार्यक्रम लागू गर्ने विद्यालयहरुमा इन्टरनेटसँगै आवश्यक परेको अवस्थामा कम्प्युटर र प्रोजेक्टर लगायत खरिदमा सहयोग गर्न सकिने आश्वासन दिए ।
कार्यक्रममा पाँचथरका पूर्व जिल्ला शिक्षा अधिकारी तथा अनलाइन शिक्षाका अभियान्ता ज्ञानमणि नेपालले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि गरेको सहयोगप्रति समानता फाउण्डेसनलाई धन्यवाद ज्ञापन गरे ।
अनलाइन शिक्षा कार्यक्रम नाँगिनपछि अव जिल्लाको विभिन्न गा.वि.स.का २६ वटा विद्यालयमा लागू गर्ने फाउण्डेसनको तयारी छ । पहिलो चरणमा विद्युतको पहुँज पुगेको विद्यालयलाई छनौट गरेको प्रोजेक्ट म्यानेजर राधाकृष्ण न्यौपानले जानकारी दिए ।
उनका अनुसार प्रत्येक विद्यालयमा कम्तिमा १० वटा र बढिमा २० वटा कम्प्युटर र एउटा प्रोजेक्टरसँगै इन्टरनेट जडान गरि दिइनेछ ।
कार्यक्रम पाँचथर जिल्लाभर लागू भएपछि ताप्लेजुङ,झापा,खोटाङ र बझाङमा दोश्रो चरणमा लागू गर्ने र तेश्रो चरणमा मुलुकको अन्य जिल्लामा पनि लागू गर्ने संस्थाले जनाएको छ ।
अमेरिका स्थित सहयोगी नेपालीहरुको अरबौँको लगानीमा कार्यक्रम लागू गर्ने भएको हो । कार्यक्रम लागू भएपछि सरकारले ह्याण्ड ओभर गर्ने उनको भनाई छ ।













प्रतिक्रिया