काठमाडौं, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूले आगामी निर्वाचनमा पहिलो र वैकल्पिक राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् । शुक्रबार पार्टी एकता महाधिवेशनको उद्घाटनमा शीर्ष नेताहरूले समकालीन ठूला दलहरू चुक्दै आएको भन्दै अबका तीनवटा निर्वाचनबाट राप्रपालाई पहिलो शक्तिमा स्थापित गर्ने दाबी गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
अध्यक्ष कमल थापाले दुई पार्टी एक भएपछि अब भरपर्दो र विश्वासिलो दल मुलुकले पाएको बताए । राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलका कारण मुलुक संकटतर्फ धकेलिँदै गएको आरोप लगाउँदै राप्रपाले अब देश बनाउने दाबी गरे । पूर्वराष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले इमानदार भएर काम गरेमा राप्रपालाई चुलीमा पुर्याउन सकिने बताएका थिए ।
अन्य दलको शुभकामना
उद्घाटन सत्रमा आमन्त्रित प्रमुख दलका शीर्ष नेताहरूले एकता महाधिवेशन सफलताको शुभकामना दिँदै संविधान कार्यान्वयनमा सहयोगी नीति पारित गरेर अगाडि बढ्न राप्रपालाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फरक मत रहे पनि संविधान निर्माणमा सहमति गरेको राप्रपाको संविधान कार्यान्वयनमा पनि सहयोग आवश्यक रहेको बताएका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसको भावना समेटेर संविधान संशोधन गरेर अगाडि बढ्न राप्रपाले सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए । एमाले अध्यक्ष केपी ओलीले भने संविधान निर्माणमा राप्रपाको सकारात्मक योगदान रहेको उल्लेख गर्दै संशोधन गर्न नहुनेमा राप्रपा स्पष्ट हुनुपर्ने बताएका थिए । अनय विभिन्न दलका नेताहरुले पनि राप्रपाको एकता महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।












प्रतिक्रिया