ललितपुर, ६ फागुन । ललितपुरको इमाडोल बस्ने २२ वर्षीया प्रिया देउजा सुवेदीको हत्या भएको भन्दै उनका आफन्तले श्रीमानविरुद्ध नै प्रहरीमा उजुरी दिएका छन् । शंकास्पद अवस्थामा गत सोमबार घरमै उनको शव भेटिएको थियो ।
श्रीमान् प्रितम सुवेदीले हत्या गरेको भन्दै प्रियाका बुबा प्रद्युम्न देउजाले बिहीबार महानगरीय प्रहरी वृत्त सातदोबाटोमा किटानी जाहेरी दिएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सोमबार दिउँसो घरमै कोठामा झुन्डिरहेको अवस्थामा प्रियाको शव भेटिएको थियो । शव आधा भुइँमा लत्रिएको अवस्थामा भेटिएको र कोठाको अवस्था पनि असामान्य थियो । सिसाहरू फुटेको, तर कोठामा प्रशस्त चुरोटका ठुटाहरू भेटिएको थियो ।
‘शनिबार मात्र ज्वाइँले फोन गरेर तपाईंको छोरीको अरूसँग अफेयर छ, तपाईं छलफल गर्न आउनुपर्यो भनेका थिए,’ मृतकका बाबु प्रद्युम्न भन्छन्, ‘भोलिपल्ट म गएर छलफल गरेँ, कि छोरी लैजाऊ, नत्र मारिदिन्छु भनेका थिए, छलफलपछि सहमति भएको थियो, भोलिपल्ट छोरीले आत्महत्या गरी भनेर फोन आयो ।’
परिवारले भेन्टिलेटरबाट छिरेर हेर्दा प्रिया झुन्डिएको अवस्थामा भेटिएको बताएको छ । पहिलेदेखि नै धम्की दिँदै आएकाले छोरीको हत्या नै भएको बुबा प्रद्युम्नले बताए । ‘शनिबार मात्र ज्वाइँले फेसबुकमा मास्टरमाइन्ड मर्डरको योजना बनाइरहेको छु भनेर लेखेका थिए,’ उनी भन्छन्, ‘यो हत्या नै हो, प्रहरीले दबाबका कारण पक्राउ गरेको छैन ।’
प्रितम र प्रियाबीच २०७१ वैशाखमा विवाह भएको थियो । प्रिया सफ्टवारिका कलेजमा अध्ययनरत थिइन् भने प्रितमले इन्जिनियरिङ पढिसकेका थिए । उनीहरूबीच लभ म्यारिज भएको हो ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी रामेश्वर यादवले घटनाको अनुसन्धान भइरहेकाले हत्या वा आत्महत्या के हो भन्ने नसकिने बताए । ‘प्रारम्भिक अनुसन्धानमा आत्महत्या जस्तो देखिन्छ,’ उनले भने, ‘आइतबार पोस्टमार्टम रिपोर्ट आउँछ, त्यसपछि प्रस्ट हुनेछ, सोही आधारमा हामी मुद्दा अघि बढाउनेछौँ ।’












प्रतिक्रिया