बुटवल, ६ फागुन । रूपन्देहीको लुम्बिनीस्थित एक अस्पतालमा अदक्ष व्यक्तिले बिरामीको अप्रेसन गरेका छन् ।
दर्तासमेत नभएको लुम्बिनी सांस्कृतिक नगरपालिकाको नैना अस्पतालले चिकित्सा क्षेत्रमा दक्षता नभएकाहरूबाटै अप्रेसन गराउने गरेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीले बिहीबार अस्पतालमा छापा मारेको थियो । गैरकानुनीरूपमा अस्पताल सञ्चालन गरी बिरामीको जीवनमाथि खेलवाड भएको जानकारीपछि कार्यालयले छापा मारेको जनस्वास्थ्य कार्यालयका प्रमुख चूडामणि भण्डारीले जानकारी दिए ।
‘हामीले छापा मार्दा अप्रेसन गरेका ६ जना बिरामी बेडमै सुतिरहेका थिए’, उनले भने, ‘अदक्ष व्यक्तिबाट अप्रेसन हुने गरेको रहेछ ।’ उनले अस्पताललाई कानुनअनुसार कारबाही गर्न प्रक्रिया अघि बढाएको बताए ।
लुम्बिनी-१, खुनगाईमा केही वर्षदेखि निजी लगानीमा उक्त अस्पताल खुलेको थियो । जनस्वास्थ्यले इलाका प्रहरी कार्यालय लुम्बिनीको सहयोगमा अस्पतालमा छापा मारेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख भण्डारीले अस्पताल जनस्वास्थ्य कार्यालयमा दर्ता नभएको बताए । बिरामीको अप्रेसनसमेत गरिरहेको प्रत्यक्ष प्रमाणसहित फेला पारेकाले आवश्यक कारबाही अघि बढाइएको उनले बताए ।
अस्पतालमा जाँच गर्ने दक्ष स्वास्थ्यकर्मी, प्राविधिक तथा भौतिक सामग्रीविनाको अप्रेसन थिएटर बनाइएको थियो । जनस्वास्थ्यले छापा मार्दा अस्पतालमा कार्यरत डा. विद्या शुक्ला र डा. सुरज गिरी भागेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जनस्वास्थ्यको टोलीले अस्पताल सञ्चालक डा।जेपी शुक्लालाई भने हिरासतमा लिएको छ । अस्पतालको बेडमा रहेका ६ जना बिरामीलाई एम्बुलेन्समार्फत भीम अस्पताल भैरहवा ल्याइएको जनस्वास्थ्य प्रमुख भण्डारीले बताए ।












प्रतिक्रिया